राजनीति

पूर्व राजालाई भेट्न कमल थापाको हारगुहार, दर्शन भेटका लागि धवलशमशेरसँग जी हजुरी !

काठमाण्डौ । एउटा भनाइ छ– बाहिर–बाहिर लोकाचार, भित्रभित्र पोकापार । नेपाली समाजले यसलाई अवसरवादीहरुको झाँको झार्न प्रयोग गर्ने गरेको भए पनि राप्रपा अध्यक्ष कमल थापाले भने यसलाई सिद्धान्त नै बनाए । र, त उनले बाहिर राजसंस्था र हिन्दू राज्यको रटान लगाए पनि गति छाडेर गणतन्त्रवादीहरुसँग एउटै भातभान्छा गर्न कुनै असजिलो मानेनन् ।

गणतन्त्र र संघीयता कार्यान्वयन गराउने कसम खाएर बनेको सरकारमा राजसंस्थाको वकालत गर्ने पार्टी नैतिकरुपमा जान कहीँ कतैबाट पनि मिल्ने थिएन् । तर, थापा यस्ता पात्र बने जसले लोकले कुरीकुरी गर्दासमेत एकपटक होइन, पटक पटक गति छाडेर सिंहदरबारको स्वाद लिए ।

जनमतको धज्जी उडाउँदै अघि बढेका कमल थापाले त्यसको फल यही जुनीमा भोगेका छन् । प्रतिनिधिसभाको एक स्थानमा त्यो पनि वाम गठबन्धनको साहरामा जित निकाल्न सके पनि थ्रेस होल्ड (न्यूनतम मत सीमा) कटाउन उनको पार्टी असफल रह्यो । मुसा प्रवृत्तिका आधुनिक बिम्ब नै बनेका यिनै थापा एकाएक पूर्वराजा ज्ञानेन्द्र शाहको शरणमा पुगे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ, तर थापाले पुस १५ गते शनिबार मात्रै राजालाई भेटेर हार गुहार गरेका छन् ।

स्रोतका अनुसार, राजसंस्थाको नाममा व्यापार मात्रै गरेको निष्कर्षमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठूलै संघर्षपछि थापाले दर्शनभेट गर्न पाएका हुन् । चुनावी परिणाम आफ्नो पक्षमा नपरेसँगै थापाले पूर्व राजालाई दर्शनभेटका लागि सन्देश पठाएका थिए । तर पूर्व राजाले पटक पटक थापाको सन्देश आए पनि सुनेका थिएनन् । तर, चतुर थापाले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाको फेरो समातेर राजालाई दर्शनभेट गर्रेर धन्यधन्य भएका छन् । धवलको आग्रहलाई टार्न नसकेर पूर्व महाराज ज्ञानेन्द्र शाहले थापालाई दर्शनभेट दिएको चर्चा पूर्व महापञ्चहरुबीच भइरहेको छ ।

व्यक्तिवाद र स्वेच्छाचारी चरित्रका कारण पार्टीमा झण्डैझण्डै पारिवारिक सदस्य मात्रै बाँकी राखेका थापाको फुर्ति पूर्वराजालाई दर्शनभेट लगत्तै बढेको छ । थापाले पूर्वराजासँगको दर्शनभेटमा पैसा र संगठन नहुँदा हारेको बयान दिए पनि पूर्व राजालेले त्यसमा कुनै पनि प्रतिक्रिया नजनाएको स्रोतको दाबी छ । तर, थापाले भने पूर्व राजा ज्ञानेन्द्रको दर्शनभेट गरे लगत्तै पूर्वराजासँग आफ्नो अहिले पनि सुमधुर सम्बन्ध रहेको गफ दिन थालेका छन् । राजासँगको सम्बन्ध राम्रो रहेको देखाएर थापा कतै नेता तथा कार्यकर्ताको पलायन रोक्ने दाउ त गरिरहेका छैनन् ? पूर्व महापञ्चहरुबीच चर्चा हुन थालेको छ । साँघु साप्ताहिकबाट