राजनीति

जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्छः नेता सिंह

काठमाण्डौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् ।

काठमाण्डौ सुनचाँदी व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्ने बताएका हुन् ।‘प्रजातान्त्रिक पद्धतिअनुसारको भएको निर्वाचनको नतिजा स्वीकार्नुपर्छ,’ उनले भने ।

काठमाण्डौ सुनचाँदी व्यवसायी संघको सल्लाहकारसमेत रहेका नेता सिंहले मुलुकको आर्थिक विकासमा सुुनचाँदी क्षेत्रको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

रक्षामन्त्री भीमसेनदास प्रधानले संविधानले व्यवस्था गरेअनुसार नै सरकारले सत्ता हस्तान्तरण गर्ने बताए ।

‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउने हुँदा राष्ट्रियसभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्छौं,’– उनले भने । राष्ट्रियसभाको निर्वाचन गराउनेबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको उनको भनाइ थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य केशव स्थापितले समयको आवश्यकताअनुसार ऐनमा सुधार गरेर आफ्नो व्यवसायलाई सुरक्षित गर्न व्यवसायी लाग्नुपर्ने बताए ।