राजनीति

केपी ओलीको चाहनाः विद्या भण्डारी नै राष्ट्रपति हुनुपर्छ !

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तत्कालिन राष्ट्रपति विद्या भण्डारीलाई फेरी राष्ट्रपति बनाउन चलखेल गरेको खुलासा भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता एवं नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले ओलीले भण्डारीलाई भावी राष्ट्रपतिको रुपमा स्वीकार गरिसकेको आफू प्रधानमन्त्री बन्ने टुंगो लगाइसकेको खुलासा गरे ।

उनले पार्टी एकीकरणमा एमालेले एकलौटी भागवन्डा गरेको र पुरानैलाई प्राथमिकता दिएको भन्दै आक्रोशसमेत पोखेका छन् । एमालेभित्र पद मोह बढेको र माओवादीलाई हेला गरे परिणाम नराम्रो हुन चेतावनी दिएका छन् ।

एक अनलाईनमा अन्र्तवार्ता दिँदै नेता पौडेलले भण्डारीले एक पटक राष्ट्रपति खाईसकेकाले नयाँ व्यक्तिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल सक्रिय राजनीतिबाट बिदा लिन चाहेको र राष्ट्रपतिको दौडमा रहेकाले आफूखुसी पद मोहमा नदौडन ओलीलाई चेतावनी दिए ।

उनले भनेको छन्, ‘ केपी ओलीजी अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनेमा हुनुहुन्छ, झलनाथजीले आफू हुनलाई लबिङ गर्नुभएको छ, पुरानैको निरन्तरता हुँदा मुलुकले परिवर्तनको महसुस गर्दैन, त्यसैले त्यो नहोला । विद्या भण्डारीजीको पनि फेरि राष्ट्रपति हुने चाहना छ । उहाँ त राष्ट्रपति भइसकेको हुँदाखेरि पार्टीको पदमा जाने कुरा भएन । भए, फेरि राष्ट्रपति हुने हो, नभए अर्को केही भएन । माधव नेपालजीको पार्टीकै लिडर हुने चाहना छ । उहाँमा पङ्चुआलिटी र सक्रियता पनि छ । ’

साथै उनले बाहिर चर्चा भएजसरी माअ‍ोवादीबाट रामबहादुर थापालाई राष्ट्रपतिका रुपमा ठोस रुपमा प्रस्ताव नगरेको खुलासा गरेका छन् ।

एमालेले सभामुखमा पनि आँखा गाडेकाले राष्ट्रपति माओवादीले पाउनुपर्ने धारणा राखे । उनले एमाले–माअ‍ोवादीभित्र चरम गुटबन्दी रहेको भन्दै त्यसलाई अन्त्य गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘ एमाले र माओवादी दुबै पार्टीमा चरम गुटबन्दी छ । माओवादीमा गुटबन्दी हो कि के हो, के हो, गज्याङ–मज्याङ छ । हामी नै सन्तुष्ट नहुने स्थिति छ । एमालेमा पनि निर्वा्चित सिस्टम त छ, तर पार्टीचाहिँ व्यवस्थित छैन । अरुभन्दा त राम्रो हो, तर पार्टी, पार्टीका रुपमा छैन ।’

नेतृत्वमा विवाद

नेता पौडेलले एमालेले प्रधानमन्त्री खाए माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टी अध्यक्षमा सहमत हुने बताएका छन् । सहमति गरेर सम्मानजनक पार्टी एकीकरण गर्न आफूहरु सहमत हुने भन्दै उनले एकलौटी निर्णयले संगठनलाई सुदृढ बनाउन नसकिने धारणा राखे ।

उनले भनेका छन्, ‘सम्मानजनक एकता हुने हो भने सरकार र पार्टीको नेतृत्व दुबै पार्टीका प्रमुखहरुले एक–एकवटा गर्नुपर्छ । किनभने, यी अलग–अलग धार हुन्, तौलमा को घटीबढी छन् भन्ने कुरा सहायक हो । एमाले अलग धार हो, माओवादी पनि अलग्गै धार हो ।’

उनले एमालेले सम्मानजनक रुपमा आफूले कुन पद लिने हो लिएर बाँकी रहेको पद माअ‍ोवादीलाई दिन आग्रह गरे । पार्टी अध्यक्षलाई अपमान गरेर एकीकरणले निरन्तरता नपाउने बताए ।

उनले भने, ‘जतिसुकै गाली गरे पनि प्रचण्डको लिडरसिपको एउटा भूमिका छ । त्यसैले प्रचण्डलाई मनोवैज्ञानिकरुपमा अपमान गरेर तपाई सहअध्यक्ष बस्नोस्, ओलीजी प्रधानमन्त्री बन्नुहुन्छ भन्दा नैतिकरुपमा मिल्दैन । बरु प्रधानमन्त्री लिने कि पार्टी अध्यक्ष लिने एमालेले रोजेर लेओस्, त्यसपछि छाडेको चाहिँ माओवादीले लिन्छ । प्रचण्डले लिनुहुन्छ । यसो गर्दा नै सम्मानजनक हुन्छ ।’

नेता पौडेलले माधव नेपाल र झलनाथ खनाललाई पनि मिलाएर लैजानुपर्ने धारणा राखे । उनीहरु पनि एकपटक प्रधानमन्त्री भइसकेकाले अपमान गर्न नहुने उनको धारणा छ ।