राजनीति

नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैनः नेता नेम्वाङ

झापा । नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्बाङले प्रदेश र संसद्को निर्वाचनबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले मार्गप्रशस्त गरेर सरकार निर्माण गर्न औपचारिकता दिनुपर्ने औँल्याएका छन् ।

झापाको दमकमा आज बिहान पत्रकारसँग कुराकानी गर्नुहुँदै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए ।

निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे ।‘आयोगको कामकारबाहीप्रति शंका जन्मिएको छ, त्यसमा आयोग गम्भीर बनोस्’ नेता नेम्बाङले भने ।

राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो । उनले भने ‘नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।’

इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राखे ।निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा गर्दै नेम्बाङले भने ‘त्यसले छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशंका गर्न आवश्यक छैन ।’