खेलकुद

स्पेनीस स्ट्राइकर डिएगो कोस्टा एथ्लेटिको मड्रिड फर्किए

एजेन्सी । स्पेनीस स्ट्राइकर डिएगो कोस्टा पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किएका छन् । इन्ग्लिश क्लब चेल्सीलाई गत सिजन प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका कोस्टा ट्रान्सफर विण्डो खुलेसँगै स्पेनिस क्लब एथ्लेटिको मड्रिड फर्किएका हुन् ।

कोस्टालाई एथ्लेटिको मड्रिडले आइतबार राति औपचारिक रुपमा क्लब आएको घोषणा गरेको छ । गत सेप्टेम्बरमै एथ्लेटिको फर्कन तयार भएपनि कोस्टा ट्रान्सफर विण्डो प्रतिबन्धका कारण चेल्सीमै रोकिएका थिए । तर, एथ्लेटिकोमाथि लागेको ट्रान्सफर विण्डोको प्रतिबन्ध खुलेसँगै क्लबले कोस्टालाई क्लब भित्राएको घोषणा गरेको हो ।

एथ्लेटिको मड्रिड आएको औपचारिक घोषणापछि कोस्टाले यो दिनको लागि आफुले धेरै पर्खेको बताएका थिए । क्लबको योगदानको लागि कडा मेहेनत गरिरहेको उल्लेख गर्दै कोस्टाले भने, “मैले यस दिनको लागि लामो समय पर्खेको छु, म प्रशिक्षणले थकित छु र म खेल्न चाहान्छु । म कडा मेहेनत गरिरहेको छु, टोलीलाई सहयोग गर्न र गोल गर्न म तयार छु ।”

कोस्टाले किङस कप खेल्दै एथ्लेटिकोबाट सिजनको सुरुवात गर्ने बताइएको छ । बुधबार हुने खेलमा एथ्लेटिकोले ललेइडा एस्पोर्टयुसँग प्रतिस्पर्धा गर्दै छ । कोस्टा सन् २०१४ मा एथ्लेटिकोबाट चेल्सी गएका थिए । चेल्सीबाट कोस्टाले १२० खेलमा ५९ गोल गरेका थिए ।

चेल्सीबाट कोस्टाले दुई प्रिमियर लिग र एक लिग कपको उपाधि जितेका थिए । तर, पछिल्लो समय प्रशिक्षक एन्टोनिओ कोन्टेसँग सम्बन्ध बिग्रिएपछि कोस्टाले क्लब छाड्ने निर्णय गरेका थिए ।