पु.समाचार

यी हुन् २०१७ मा नेपालमा भएका चर्चित घटना

काठमाण्डौ । अंग्रेजी क्यालेन्डरअनुसार २०१७ बिदा भएसँगै नयाँ वर्ष २०१८ सुरु भएको छ । सन् २०१७ मा पनि विगतका अन्य वर्षजस्तै मुलुककै ध्यान केन्द्रित गर्ने केही घटना भए ।

नेपालका केही चर्चित घटना यस्ता छन्ः

प्रदेश र प्रतिनिधि सभाको निर्वाचन

वर्षको अन्त्यतिर मुलुकमा लामो समयदेखि हुननसकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको छ । त्यो भन्दा अगाडि स्थानीय तहको निर्वाचन सम्पन्न भयो ।

प्रहरीमा विवाद

सन् १०१७ को शुरुवातदेखि नै नेपाल प्रहरी संगठनमा प्रहरी प्रमुखको कुर्सीमा को बस्ने भन्ने विषयमा निकै चर्चा भयो । प्रहरी नेतृत्वकै कारण न्यायालयदेखि कार्यपालिकासम्म विवाद देखियो । यो विवाद भने अझै सेलाएको छैन ।

एमाले माअ‍ोवादी एकीकरणको घोषणः

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अगावै गत असोज १७ गते चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने सहमति भयो । पार्टी एकीकरण गरेर चुनावमा होमिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालपुत्र प्रकाश दाहालको निधन भयो । चुनावी कार्यक्रममा रहेका अध्यक्ष दाहाल पुत्रवियोगले विछप्त बने पनि चितवन ३ बाट चुनाव जित्न सफल रहे ।

निर्माण व्यवसायीको हत्या

वर्षको अन्त्यतिर काठमाण्डौको नयाँ बानेश्वरमा दिनदहाडै निर्माण व्यवसायी शरदकुमार गौचनको हत्या भयो । कमिसन नपाएको झोँकमा गुण्डा नाइके समिरमान बस्नेतले उनको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सुन प्रकरण

रसुवा–केरुङ नाका हुँदै काठमाण्डौ भित्र्याउँदै गरेको ८८ किलो सुन बरामद भयो । बा १७ च ६४२७ नम्बरको टाटा कम्पनीको गाडीमा सुन ल्याइएको थियो । प्रहरीले क्षेत्रपाटीबाट गाडी चालक २४ वर्षीय मनोज अधिकारीसहित ८८ किलो सुन समातेको थियो ।

प्रविण खत्रीमाथि गोली प्रहार

ललितपुर कुसुन्तीमा लागूऔषध कारोबारी तथा प्रयोगकर्ता प्रविण खत्रीमाथि प्रहरीले चलाएको गोली लागी मृत्यु भयो । प्रविणलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको थियो तर उनी माथिबाट भाग्दै आफैंले कन्चटमा गोली हानेर मृत्यु भएको प्रहरी भनाइ छ, तर उनका परिवारले भने प्रहरीले नै गोली हानी हत्या गरेको बताएका छन् । खत्रीले केही वर्षदेखि ब्राउन सुगर लिँदै आएको प्रहरीको दाबी छ ।

धर्मगुरुको यौनधन्दा

धर्मगुरुले गुम्बा नै सञ्चालन गरेर यौन कृयाकलाप गर्ने गरेको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सिन्धुलीका ५६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जे योन्जनलाई दक्षिणकालीस्थित गुम्बाबाट पक्राउ गरेको छ । उनले महिलालाई विभिन्न लोभ त्रास र धार्मिक आस्था देखाई शोषण गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । आफू अवतारी लामा भएको र जस्तोसुकै रोग पनि निको पार्ने भन्दै महिलालाई एकान्त कोठामा लगेर जबरजस्ती गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भारतीयको गोली प्रहार

कमलादीमा भएको गोलीकाण्ड पनि सन् २०१७ को गम्भीर घटनाको रुपमा लिइएको छ । कमलादीको हेरिटेज प्लाजामा रहेको होटलमा युवतिको विषयमा विवाद हुँदा भारतीय नागरिकले गोली चलाएका थिए ।

युवतीका कारण गोली

काठमाण्डौको म्हेपीमा युवतीको विवादमा भएको गोली काण्ड पनि निकै चर्चामा रह्यो । रानीबारी बस्ने गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली प्रहार भएको थियो ।

क्लब डेजाभू प्रकरण

काठमाण्डौको दरबारमार्गस्थित डेजाभु नाइट क्लबका सञ्चालक क्रिकेटर पृथु बाँस्कोटासहित ८ जना अहिले पनि प्रहरी हिरासतमा छन् । विश्व चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरेको र मार्समेलो नआएको भन्दै क्लब तोडफोड गरेका थिए । महँगो मूल्यमा टिकट विक्री गरेको भन्दै सञ्चालक जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, राजीव महर्जन, आकाश न्यौपाने र रितेश मारवाडीलाई प्रहरीले पक्राउ गरि ठगी अभियोगमा अनुसन्धान गरिरहेको छ ।

व्यापारीको हत्या

दाङ तुलसीपुरका कपडा व्यापारी ५३ वर्षीय राजकुमार श्रेष्ठको अपहरण अनि हत्या प्रकरण पनि यो वर्षको गम्भीर घटना हो । घटनाका मुख्य योजनाकार मानबहादुर भण्डारी, टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी पूजा घर्तीलगायत चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २६ गते राति अपहरित श्रेष्ठको शव कुहिएको अवस्थामा असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका लेक भञ्ज्याङमा रहेको जंगलमा प्रहरीले फेला पारेको थियो ।

काँग्रेस युवा नेताको हत्या

जाजरकोटमा नेपाली काँग्रेसका युवा नेता रवीन्द्र शाहको हत्या भयो । नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीले हत्यामा संलग्न ‘शिव’ भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई सार्वजनिक गरेको थियो । पक्राउ परेका दुवै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोट जिल्ला कार्यसमितिका सदस्य छन् ।