स्वास्थ्य

क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीको प्रयोगशालामा लामो समयदेखि क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव भएको छ ।

क्षयरोगको किटाणु पत्ता लगाउने कार्बलफुसिन, मेथालिन ब्लु र सल्फ्युरिक एसिडको अभाव भएको हो । तीनवटै केमिकलको अभाव भएपछि क्षयरोग परीक्षणका लागि पुग्ने बिरामीलाई परीक्षणबिना नै फर्काउनु परेको प्रयोगशालाका प्राविधिक वसन्त धामीले बताए ।

उनले दैनिक टाढाटाढाबाट परीक्षणका लागि पुग्ने शंकास्पद क्षयरोगका १० देखि १२ जना बिरामीलाई परीक्षणका लागि अन्यत्र जान सल्लाह दिएको उल्लेख गरे ।

जिल्लामै केमिकल नपाइएपछि ल्याब नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
नगरपालिका क्षेत्रका तीन वटा स्वास्थ्य चौकीमध्ये असैनामा रहेको स्वास्थ्य चौकीमा मात्रै प्रयोगशाला सञ्चालनमा रहेको छ ।

प्रयोगशालामा क्षयरोगका बिरामीको परीक्षणसँगै औषधि निःशुल्करुपमा पाइने गरेकाले टाढाबाट बिरामी उपचारका लागि पुग्ने गर्दछन् ।

औषधि पनि अभाव

पिपलाडी स्वास्थ्य चौकीमा औषधिको पनि अभाव रहेको छ । सिटामोल, जीवनजल र परिवार नियोजनका साधानबाहेक अन्य औषधिको तीन महिनादेखि स्वास्थ्य चौकीमा अभाव भएको हो ।

एन्टिबायोटिक कुनै पनि प्रकारको औषधि स्वास्थ्य चौकीमा नरहेको स्वास्थ्य चौकीका प्रमुख दिलीपसिंह साउदले बताए । औषधि नै नभएपछि स्वास्थ्य चौकीमा बिरामीसमेत थोरै मात्रै पुग्ने गरेको उनले बताए ।

बिरामीलाई लगाइने सिरिञ्ज र औषधिको समेत स्वास्थ्य चौकीमा अभाव भएको छ । “एक जना बिरामीलाई वर्षको रु ३०० का दरले औषधि दिँदासमेत वर्षमा रु ६० लाख आवश्यक पर्छ”– उनले भने, “औषधि ल्याउनका लागि नगरपालिकाले उपलब्ध गराएको छ लाख रकमले एक महिनाको औषधि खरिदका लागिसमेत पुग्दैन ।”