राजनीति

आरोप प्रत्यारोपभन्दा एकता आवश्यकः महामन्त्री कोइराला

पोखरा । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली काँग्रेसमा एक अर्कामा आरोप प्रत्यारोपभन्दा पनि एकता आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस, कास्कीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले सम्पन्न निर्वाचनमा गणितीय रुपमा हार जस्तो देखिए पनि हारको मनस्थितिमा रहनु आवश्यक नभएको बताए ।

निर्वाचन लगायतका विषयमा पार्टी केन्द्रले चाँडै नै समीक्षा गर्ने बताउँदै उनले आगामी दिनमा पार्टीलाई कुन रुपमा अघि बढाउने लगायतका विषयमा छलफल गरिने उल्लेख गरे ।

“पार्टीभित्र सभापतिलाई मात्र दोष दिएर हुँदैन, सर्वप्रथम आफूलाई नै हेरौँ,” उनले भने, “टिकट वितरणलगायतका धेरै कुरामा त्रुटि भएका छन्, यी सबै त्रुटि आगामी दिनमा सच्याएर अघि बढ्नु आवश्यक छ ।”

काँग्रेसले आगामी दिनमा सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै महामन्त्री कोइरालाले पार्टी संगठनलाई सुदृढ र एकताबद्ध गराएमा मात्र बिपीप्रति सच्चा सम्मान हुने उल्लेख गरे ।

काँग्रेसका नेता खेमराज पौडेलले राष्ट्रियता एवं राष्ट्रको हितलाई सर्वोपरी राख्दै २०३३ सालमा बिपीले लिनुभएको मेलमिलाप नीति वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताए । आगामी दिनमा कम्युनिष्टको चियोचर्चो भन्दा पनि कसरी पार्टी संगठनलाई कसरी राम्रो बनाउने हो त्यसतर्फ ध्यान दिनु आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

नेपाली काँग्रेस, कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस नेता शुक्रराज शर्मा, पूर्वसांसद शारदा पौडेल, सचिव रामराज लामिछाने, महाधिवेशन प्रतिनिधि देवराज चालिसेलगायतले विपीका विचार र आदर्शबाट पार्टी विचलित बन्दै गएको बताउँदै आगामी दिनमा पार्टीलाई अझै एकताबद्ध बनाएर अघि बढाउनुको विकल्प नभएकोमा जोड दिए ।