खेलकुद

महिला लिग फुटबलमा पुलिस र सुदूरपश्चिमाञ्चलको विजयी शुरुवात

काठमाण्डौ । नेपाल पुलिस र सुदूरपश्चिमाञ्चलले १६ औं राष्ट्रिय महिला लिग फुटबलमा विजयी शुरुवात गरेका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट शुरु लिगमा पुलिसले मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई पराजित गरे ।

उद्घाटन खेलमा निर्मला विक एक्लैले ४ गोल गरेपछि पुलिसले मध्यमाञ्चललाई ६–२ ले पराजित गर्‍यो । ११ औं मिनेटमा गोलको खाता खोलेकी निर्मलाले १३ र ३६ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरेकी थिइन् । दोस्रो हाफको ४९ औं मिनेटमा उनको प्रहारले जाली चुमेपछि गोल संख्या ४ पुगेको थियो । थप गोल अमृता जैसी र क्याप्टेन घिमकुमारी गुरुङ्गको नाममा रह्यो ।

मध्यमाञ्चलका सविता राना मगर र मिथिला कुस्वारले सान्त्वना गोल फर्काए । आजै भएको दोस्रो खेलमा सुदूरपश्चिमलाई विजयी गराउन श्रीषा कार्की र चन्द्रा भण्डारीले २–२ गोल गरे । सुदूरपश्चिमले पूर्वाञ्चल माथि ४–० को सहज जित दर्ता गर्‍यो । लिगमा भोलि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चल तथा सशस्त्र प्रहरीको एपीएफ क्लब र मध्यपश्चिमाञ्चलबीच खेल हुनेछ ।