राजनीति

मेलमिलाप दिवसकै दिन युवालाई जोस्याउँदै देउवा र प्रकाशमानबीच चर्काचर्की !

काठमाण्डौ । नेपाली काँग्रेसका दुई नेताबीच चर्काचर्की भएको छ । बीपी काइरालाको मेलमिलाप दिवसकै दिन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाबीच भनाभन चलेकोे हो ।

सुरुमा देउवाले सम्बोधन गरेको उक्त कार्यक्रममा काँग्रेस नेता प्रकाशमान लगायतका नेतालाई लक्षित गर्दै उनले भने, ‘पार्टीभित्र मेरो विरोध गर्नेले बुझुन्, आफू हार्ने अनि मेरो विरोध गर्ने ? अहिले तत मम गरेर कोही बलियो पनि हुँदैन । केही हुनेवाला पनि छैन । हाम्रै कारणले हाम्राले हामीलाई हराएको हो ।’

साथै देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाए । उनले चुनावको परिणाम हेरेर निराश नहुन पनि कार्यकर्तालाई आह्वान गरे ।

‘चुनावको परिणाम हेरेर युवा नै किन निराश भएको ? म बुढो त निराश भएको छैन । समानुपातिकमा त राम्रै मत आएको छ ।’ देउवाले अन्तर्घात गर्नेलाई कारवाही गर्ने पनि बताए ।

‘चुनावमा हार्नुको कारण के हो उच्चस्तरीय छानविन समिति गठन गर्छु । स्थानीय निकायमा अन्तर्घात गर्नेलाई कारवाही नगरेका कारण अहिले धेरै अन्तर्घात भयो । अन्तर्घात गर्नेलाई कडा भन्दा कडा कारवाही हुन्छ । छानविन निष्पक्ष तरिकाले हुन्छ ।’

उनले बेलुका भएपछि मतगणनास्थलमा बस्दै नबस्ने कारणले पनि केही उमेदवार पराजित हुनुपरेको बताएका छन् ।

‘मतगणनास्थलमा बस्दै नबस्ने, राति भयो कि त झनै बस्दै नबस्ने, त्यो पनि हारको एउटा कारण हो’ उनले भने । उनले काँग्रेसभित्र मेलमिलापसहितको अनुशासन जरुरी रहेको बताए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेता प्रकाशमान सिंहले काँग्रेसले चुनावमा लजास्पद हार बेहोर्नुको एउटा कारण पार्टीभित्रको अप्रजातान्त्रिक अभ्यास पनि रहेको टिप्पणी गरे ।

नेता सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन नसक्दा काँग्रेस बिरामी परेको स्पष्ट पारे ।

काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोईरालाले देखाएको प्रजातान्त्रिक पद्धतिलाई अहिलेको सभापतिले अंगिकार गर्न नसकेको भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढङ्गले अगाडि बढेको बताए ।

देउवामाथि आक्रामक रुपमा प्रस्तुत भएका सिंहले भने, ‘पार्टीको १३ औँ महाधिवेशन भएको २ वर्ष हुन लागिसक्यो । अहिलेसम्म न उपसभापति न महामन्त्री चयन गर्नुभएको छ । पार्टी अहिले कामविहीन भएर बसेको छ ।’