राजनीति

माअ‍ोवादी नेताले मागे प्रधानमन्त्रीको राजीनामा !

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले जनताले वाम गठबन्धनलाई नयाँ सरकार गठनका लागि जनादेश दिइसकेकाले अब यसमा ढिलाइ गर्न नहुने बताए ।

नेता सापकोटाले भने, ‘अब बल प्रधानमन्त्री देउवाको कोर्टमा पुगेको छ, त्यसैले पनि विभिन्न बहानामा नयाँ सरकार गठन गर्न ढिलाइ भए, जनताको इच्छा र आकांक्षामा मात्र नभई लोकतान्त्रिक पद्धतिमै प्रश्न चिह्न उठ्छ ।’

संविधानको धारा ७६ को उपधारा ८ मा स्पष्ट रुपमा नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाले सक्ने व्यवस्था भएको तर्क गदै उहाँले सरकार गठनका लागि राष्ट्रियसभा र प्रतिनिधिसभालाई जोड्नु आवश्यक नभएको दाबी गरे ।नयाँ सरकार गठन र पार्टी एकीकरणमा वाम गठबन्धनबीच कुनै पनि विवाद नभएको दाबी गर्दै नेता सापकोटाले बाहिर आएका हल्ला सत्य नभएको जिकिर पनि गरे ।

उनले भने, ‘नयाँ बन्ने सरकारको नेतृत्व एमालेले गरे पार्टी नेतृत्व माओवादीले गर्छ, सरकारको नेतृत्व माओवादीले गरे पार्टीको नेतृत्व एमालेले गर्छ, बाहिर चर्चामा आए जस्तो आलोपालो प्रथा नभई सरकार र पार्टीको नेतृत्व शीर्ष दुई नेताले स्थायी रुपमै गर्ने गरी अगाडि बढेको छ ।’

उनले अहिले भइरहेको भ्रष्टाचारको एक एक हिसाब चाहिने भन्दै भ्रष्टाचार नियन्त्रणलाई अबको सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।