आर्थिक

बैंकहरुले व्याजदर वृद्धिको प्रतिस्पर्धा नगर्ने, यस्तो भयो सहमति

काठमाण्डौ । बाणिज्य बैंकहरुबीच व्याजदर वृद्धिको प्रतिस्पर्धा नगर्ने सहमति भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनले व्याजदरका कारण अस्वच्छ प्रतिस्पर्धा देखिएको ठहर गर्दै भद्र सहमति गरिएको एसोसिएसनका कार्यवहाक अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका सिइओ ज्ञानेन्द्र ढुङ्गानाले जानकारी दिए ।

राष्ट्र बैंक तथा अर्थमन्त्रालयले समेत आश्वासनसहित आग्रह गरेकाले बैंकहरुबीच व्याजदर नबढाउने सहमति भएको उनले जानकारी दिए ।

व्याजदर वृद्धिको प्रतिस्पर्धाले एउटा बैंकबाट अर्कोमा रकम सर्ने मात्रै भएकाले त्यसले समग्र वित्तीय प्रणालीमा नराम्रो असर पर्ने एसोसिएसनको ठहर छ ।

विकास खर्च नभएसम्म बैंकिङ प्रणालीमा रकम नबढ्ने भएकाले मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी व्याजदर नदिने सहमति पनि बैठकमा भएको अर्का एक बैंकर्सले जानकारी दिए ।

लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुबीच उच्च व्याजदर दिएर निक्षेप आफूतिर तान्ने होडबाजी चलेको छ । वाणिज्य बैंकले नै मुद्दतिमा १२ प्रतिशतभन्दा बढी व्याजदर दिन थालेका छन् भने बचत खातामै साढे ८ प्रतिशतसम्म पुगेको छ।

लगानीयोग्य रकमको अभाव भएपछि राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदैछ । आज विकास ऋणपत्र खरिद गरी उसले सो रकम प्रणालीमा पठाउँदैछ । बैंकिङ प्रणालीमा ३० अर्बभन्दा बढी लगानीयोग्य रकम भएको राष्ट्र बैंकले जनाएको छ । थप ५ अर्ब पठाएपछि केही सहज हुने राष्ट्र बैंकको विश्वास छ ।