पु.समाचार

भक्तपुरलाई शिक्षा र स्वास्थ्यको पनि गन्तव्यस्थल बनाइने

भक्तपुर । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि सरसफाइ अभियानमा जुटेका छन् ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउने अभियानअन्तर्गत नगरपालिका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सम्पूर्ण जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी स्थानीय जनताको सहभागितामा सरसफाइ अभियानमा जुटेका हुन् ।

प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर संसारकै सम्पत्ति भएकाले यसलाई सफा र सुन्दर बनाउनु हाम्रो सभ्यताको चिह्न भएको बताउँदै अब यसलाई शिक्षा, स्वास्थ्यको पनि गन्तव्यस्थल बनाउन लागिएको जानकारी दिए । “नेपाल भ्रमणमा आउने हरेक पर्यटकलाई भक्तपुरमा बोलाउने वातावरण सिर्जना गरौँ”, उनले सबैसँग आग्रह गरे ।

वातावरण समितिका संयोजक एवं भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले कुहिने र नकुहिने फोहर घर घरबाटै छुट्याउन सके फोहरमैला समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे ।

अभियानसँगै नगरपालिकाले नगरका मुख्य बजारको दायाँबायाँका पसल, व्यवसाय र घरबाट दिन मिलाएर कुहिने र नकुहिने फोहर संकलन गर्ने कार्यसमेत शुरु गरिसकेको छ । हरेक दिन ट्राइसाइकल र गाडीले मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म बजारको फोहर संकलन गर्न तथा त्यस समयबाहेक बिहान, बेलुका र राति फोहर जथाभावी नफाल्न आग्रह गरिएको छ । नगरको मुख्य बजारमा आइतबार, मंगलबार र बिहीबार नकुहिने ंफोहर तथा सोमबार, बुधबार, शुक्रबार र शनिबार कुहिने फोहर मात्रै संकलन गरिने नगरपालिका स्यानिटेशन शाखा प्रमुख दिलीप सुवालले बताए ।

उनले पसल, व्यवसाय र घरबाट निस्किने फोहर व्यवस्थित गर्न नगरवासीलाई आग्रह गर्दै पटक पटक सम्झाउँदा पनि अटेर गर्नेलाई स्थानीय सरकार सञ्चालन ऐनअनुसार कारवाही गरिने चेतावनी दिए ।