राजनीति

पार्टी एकता गर्न बाबुरामलाई दाहालको प्रस्ताव, खुमलटारमा भयो यस्तो सहमति !

काठमाण्डौ । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताका लागि पुनः प्रस्ताव गरेका छन् । आइतबार बिहान खुमलटारस्थित निवासमा भएको भेटमा दाहालले भट्टराईसँग पार्टी एकताको प्रस्ताव गरेका हुन् ।

दाहालले बाबुरामलाई पार्टी एकतामा आए राजनीतिक गतिरोध फुकाउन सहज हुने बताएका थिए । ‘ बाबुरामजी तपाईं पनि एकतामा आए राजनीतिक गतिरोध फुकाउन र मुलुकलाई आर्थिक सम्बृद्धितर्फ अघि बढाउन धेरै सहयोग हुने थियो’ दाहालको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘आखिर तपाईंपनि वामगठबन्धनमा सामेल हुनु भएकै हो । त्यसैले चुनाव अघि जे जे भयो, त्यो भयो, पुराना कुरा बिर्सेर एकतामा सामेल होऔं ।’

भट्टराई जारी राजनीतिक गतिरोधको अन्त्य विषयमा कुराकानी गर्न दाहाल निवास पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

भट्टराईले भने पहिले एमाले–माओवादी केन्द्रबीचको एकताको कामना गरेका थिए । ‘पहिले तपाईंहरुबीच एकता होस्, एकता गरेर छिटो सरकार निर्माण गर्नुस् र राजनीतिक स्थायित्व दिनुस्’ भट्टराईले भने, ‘एकता संयोजन समिति छँदैछ, त्यसैमार्फत् धेरै कुरा टुङ्ग्याउन सकिन्छ । तपाईंहरु मिल्नुस्, मेरो शुभकामना छ ।’

दाहाल नयाँशक्तिसँग पनि पार्टी एकता गर्न इच्छुक रहेको बताइएको छ । बाबुराम यसअघि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । उनीहरबीच राजनीतिक गतिरोध अन्त्यका लागि छलफल भएको थियो । साथै ओलीले सकारमा सहभागी हुन आग्रह गरेको स्रोतले बतायो ।  काँग्रेससँग मिलेर चुनाव लडेका भट्टराई वाम गठबन्धनसँग मिल्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।