पर्यटन/संस्कृति

हात्ती महोत्सव सम्पन्न

रत्ननगर, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा भएको पाँचदिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ ।

यही पुस ११ गतेदेखि शुरु भएको १४ औँ चितवन हात्ती महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवअन्तर्गत भएको विभिन्न कार्यक्रममध्ये हात्तीको फाष्टवाक प्रतियोगितामा टुरिजम बैंकबाट सहभागी लक्कीकली प्रथम भएको छ ।

हिमालयन जर्नीको एकताकली दोस्रो र कोकाकोलाबाट सहभागी अनारकली तेस्रो भएको आयोजक समितिका संयोजक दीपक भट्टराईले जानकारी दिए ।

सौराहाको बाघमारा चौरमा भएको महोत्सवमा हात्ती सुन्दरीको ताज भने होटल पार्क साइडको पुजाकलीले जितेकी छिन् । यस्तै हात्ती पेन्टिङमा भने पुनक कलिले जित्यो । हात्तीको फुटबलमा चौधरी ग्रुपले जितेको छ ।

फुटलमा कुमारी बैंकलाई शून्यका विरुद्ध तीन गोलले हराउँदै सिजीले उपाधि जितेको हात्ती व्यवस्थापन तथा खेलकुद समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए। हात्ती पोलोमा माउन्ट एभरेष्ट ग्रुपले जितेको छ । उसले मेघा बैंकलाई ३ का विरुद्ध ६ गोलले पराजित गरेको हो ।

यसपाली गाडा डुंगा र टाँगा दौड कार्यक्रम हटाइएको थियो । हात्तीको वनभोज कार्यक्रमसमेत भएको आयोजकले जनाएको छ । हात्ती महोत्सवले सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गराएको क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनालले बताए। नेपालमै यो महोत्सव अन्य महोत्सवभन्दा फरक खालको हुने गरेको छ ।