पु.समाचार

चिसोका कारण जनजीवन प्रभावित

नवलपरासी । विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ । घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् ।

चिसोका कारण विपन्न र गरिब परिवार दिनभरि नै आगो तापेर बस्न बाध्य भएका छन् भने किसान चिसोका कारण खेतमा काम गर्न जान नसकेको सुस्ताका छोटे खानले बताए ।

चिसो र शीतलहर बढेको हुँदा तरकारीखेती पनि प्रभावित भएको किसानले दुखेसो व्यक्त गरेका छन् । आलु गोलभेँडा लगायतका तरकारीमा डडुवा रोग लागेर तरकारी बाली नष्ट भएको विनय त्रिवेणी– ७ रानीनगरका किसान गोवर्धन कुर्मीले जानकारी दिए ।

चिसोले गर्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएको अवस्था छ । चिसोले वृद्धवृद्धामा बाथ, दम, रुघाखोकीको प्रकोप देखा परेको छ भने बालबालिकामा निमोनिया श्वासप्रश्वासका रोगी उपचारका लागि स्वास्थ्य केन्द्रमा आउने गरेको सहिद स्मृति सामुदायिक अस्पातल चौपताका मेडिकल अधिकृत नीरज रौनियारले बताए ।

चिसोले स्कुले बालबालिकाको विद्यालय जाने संख्या कम भइरहेको छ । चिसोबाट बच्नका लागि बढी तातो भई बस्ने र बढी तातो पेय पदार्थ पिउने र घरमै बस्न चिकित्सकले सल्लाह दिएका छन् ।