स्वास्थ्य

स्वास्थ्य बीमामा सत्र सय परिवार आबद्ध

बाबियाचौर, म्याग्दी । आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब एक हजार सात सय परिवार आबद्ध भएका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको अवधिमा एक हजार ६७४ परिवारका सात हजार १६० जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका समितिका जिल्ला प्रबन्धक अर्जुन पण्डितले जानकारी दिए ।

स्वास्थ्य बीमाबापत रु ४३ लाख ७८ हजार ६२० योगदान रकम संकलन भएको छ । स्वास्थ्य बीमा गरेकामध्ये हालसम्म बेनी अस्पतालबाट दुई हजार ५१९ जनाले रु १३ लाख २९ हजार ९३६ र दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५१ जनाले रु एक लाख ५३ हजार ५२४ बराबरको औषधि, उपचार सेवा प्राप्त गरेका समितिले जनाएको छ ।

धौगागिरि गाउँपालिका– ७ ताकमका तुलसीनाथ सुवेदीले रु दुई हजार ५०० शुल्क तिरेर स्वास्थ्य बीमा गरेर रु १० हजार बराबरको उपचार सेवा निःशुल्क प्राप्त गरेको बताए । स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाएको सुवेदीले बताए ।

बेनी अस्पताल, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङका साथै ती स्वास्थ्य संस्थाले सिफारिश गरेमा सूचीकृत भएका काठमाडौँ, पोखरालगायत देशका विभिन्न ठाउँमा रहेका अस्पतालबाट सेवा पाउने व्यवस्था रहेको छ ।

पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी भए प्रतिसदस्य ४२५ का दरले थप रकम शुल्क तिरेर एक वर्षको अवधिका लागि स्वास्थ्य बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको सेवा पाइने र पाँचभन्दा थप सदस्य भएमा जनही रु १० हजार गरी बढीमा रु एक लाखसम्मको सेवा पाइने बताइएको छ ।

कार्यक्रमबाट बीमाकर्ताले बहिरङ्ग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमका सेवा पाउनेछन् ।

वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बीमा गर्न सकिन्छ । म्याग्दीमा ४३ जना दर्ता सहयोगी परिचालन भएका छन् । ४ नं प्रदेशको म्याग्दी, बागलुङ, कास्की, तनहुँ र गोरखासहित देशका २२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ ।