अन्तर्राष्ट्रिय

सुडानद्वारा थप दुई राज्यमा पनि सङ्कटकालको घोषणा

कातुम, सुडान । सुडानले उत्तरी दुई राज्यमा छ महिनाका लागि सङ्कटकालको घोषणा गरेको यहाँको सरकारी समाचार संस्थाले शनिबार जनाएको छ ।

सुडानले यसपहिले राज्यका सन् २००३ द्वन्द्वको चपेटामा परेको अन्य सात राज्यमासमेत सङ्कटकाल लगाउँदै आएको छ ।
सुडानका राष्ट्रपति ओमार अल बासिरले उत्तरी कोर्दोफान तथा कसला राज्यमा छ महिनाका लागि सङ्कटका लगाएको सरकारी सञ्चारमाध्यम सुनाल राष्ट्रपतिको कार्यालयलाई उद्धृत गरी जनाएको छ । कसला इरिट्रियाको सीमानामा पर्ने सुडानी राज्य हो भने कोर्दोफान मध्य क्षेत्रमा पर्छ ।

राष्ट्रपतिको कार्यालयबाट जारी एक विज्ञप्ति जारी गरी भनेको छ, “उत्तरी कोर्दोफानमा आगामी छ महिनाका लागि सङ्कटकाल लगाउने निर्णय भएको छ ।” सुनाले विज्ञप्तिमा सङ्कटकाल लगाउनुपर्ने कारणबारे केही नबताइएको पनि समाचारमा उल्लेख गरेको छ ।

सुडानमा सरकार र विद्रोहीबीच सन् २०११ देखि कोर्दोफान र क्लु नाइल क्षेत्रमा युद्ध जारी रहेको छ भने द्वन्द्वका कारण हजारौ नागरिक तथा सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

सुडानको संविधानले राष्ट्रपतिले गरेको घोषणा कार्यान्वयन गर्नलाई दूई हप्ताभित्र यहाँको संसदले अनुमोदन गर्नु जरुरी छ ।