राजनीति

पूर्वराजालाई भेटेपछि कमल थापा यसरी भए उत्साही, राजतन्त्र ल्याउन आन्दोलन चर्काउने

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवाता गरेका छन् । थापा नेपालगञ्जको होटल सोल्टीमा बसिरहेका पूर्वराजा शाहलाई भेट्न पुगेका हुन् ।

शनिबार भएको भेटमा थापाले संसदमा हिन्दु राष्ट्र र राजसंस्थाको मुद्धा कमजोर भएकाले सडक आन्दोलन चर्काउने सहमति भएको खुलासा भएको छ ।

भर्खरै सम्पन्न चुनावमा नराम्रो पराजय भोगेका थापा एकाएक पूर्वराजा भेट्न पुग्नुले नेपाली राजनीतिमा तरंग पैदा गरेको छ ।  उनको भेट एक घण्टाभन्दा लामो समय चलेको थियो । यद्यपि थापाले आफू पूर्वराजालाई भेट्नकै लागि नेपालगञ्ज नआएको बताए ।

‘म नेपालगञ्ज आएको र राजा पनि यतै रहेको थाहा पाएपछि भेट्न गएको हुँ,’ पूर्वराजासँगको भेटपछि थापाले भने ।

मध्य तथा सुदुर पश्चिम क्षेत्रको भ्रमण तथा आफ्नो समेत लगानी रहेको चार तारे होटल सोल्टी सोल्टी सिबक्रिम होटल एण्ड रिसोर्टको उद्घाटनका लागि पूर्व राजा ज्ञानेन्द्र गत बिहीबार नेपालगञ्ज पुगेका हुन् ।

उनले पछिल्लो निर्वाचन परिणामपछि संसदमा हिन्दु राष्ट्र र राजसंस्थाको मुद्दा कमजोर भएको स्वीकारे । यद्यपि ती मुद्दालाई स्थापित गर्न राप्रपाले सडक आन्दोलन चर्काउने उनको दाबी थियो ।

‘हिन्दुराष्ट्र र राजसंस्थाको एजेन्डा संसदमा कमजोर भयो, सडकमा सशक्त बनाउँछौँ’, उनले भने, ‘जनताले पनि राप्रपालाई सडक आन्दोलनमा देख्न चाहन्छन् ।’

राजतन्त्र ल्याउन पूर्वराजा शाहले करोडौ आर्थिक सहयोग गरेको खुलासा भएको छ । थापा सहयोग रकम पाएपछि उत्साही बनेका छन् । चुनाव हारेर टाट पल्टिएका थापाले ठुलै आर्थिक सहयोग पाएको खुलासा भएको छ ।