पु.समाचार

अवैध औषधि पसल सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

धनगढी । अवैध रुपमा औषधि पसल सञ्चालन गरी प्रतिबन्धित औषधि बिक्री वितरण गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली लम्कीचुहा नगरपालिका–९, खमरियामा औषधि पसलबाट अवैध लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा गएको इलाका प्रहरी कार्यालयको टोलीले भारत लखिमपुर जिल्ला तिकुनियाका ३४ वर्षीय छत्रपाललाई अवैध औषधिसहित बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उक्त मेडिकलबाट लागुऔषधका रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ चिकित्सकको प्रेस्क्रिप्सनमा बिरामीको अभिलेख राखेर चिकित्सककै निगरानीमा मात्र बिरामीलाई खुवाइने ट्रमाडोल, डिसाइक्लोमाइन, एभिल, सेटिराजिनलगायत नेपालमा दर्ता नभएका अन्य कम्पनीका करिब साठी हजार मूल्य बराबरको तीन बोरा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।

उनीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कैलाली जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अघि बढाइएको छ । उनले नेपालमा दर्ता नगरिएका प्रतिबन्धित भारतीय औषधि भन्सार छली ल्याएर बिक्री वितरण गर्ने गरेको, दर्ता नगरी औषधि पसल सञ्चालन गरेको, औषधिसम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको पाइएको प्रहरीले जनाएको छ ।