उर्जा

घलेम्दी खोला पावर हाउसको निर्माण तीव्र

बेनी, म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेघावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ ।

दुई हप्ता अगाडि आयोजनाका प्रबन्ध निर्देशक प्रमोदकुमार श्रेष्ठले शिलान्यास गरेको पावर हाउसमा मेसिनसहितका आवश्यक उपकरण राख्ने भवनको दुई चरणमा काम भइरहेको छ ।

नीलगिरि खोलाको किनारमा कडा चट्टान पन्छाउँदै बिहान, दिउँसो र रातको समयमा समेत धमाधम काम भइरहेको कम्पनी सचिव लक्ष्मीनिधि रिजाल ‘विमल’ले बताए । “पावर हाउसको काम तीब्र गतिमा भइरहेको छ,” सचिव रिजाले भने – “पावर हाउसदेखि ड्यामसम्म दुई चरणमा काम भइरहेको छ ।” पावर हाउससहित कर्मचारी आवासगृहको कामसमेत शुरु भएको उनले बताए ।

आगामी चार महिनाभित्र पावर हाउसको निर्माण सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको पनि उनले जानकारी दिए । रातको समयमा निर्माण कार्यमा कुनै पनि असर हुन नदिन आसपासका क्षेत्रमा हेलोजिन बत्तीको समेत प्रयोग गरिएको छ ।

आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि अध्यक्ष ईश्वर सुवेदी, प्रबन्ध निर्देशक प्रमोदकुमार श्रेष्ठलगायतको टोलीले अनुगमन तथा तत्काल समस्या समाधानका लागिसमेत आयोजनास्थलमै निर्देशन दिने गरेकाले पनि पछिल्लो समय पावरहाउसदेखि ड्यामसम्मको कामले तीव्रता पाएको रिजालको भनाइ छ ।

विसं २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको छ ।

आयोजनाको सुरुङमार्गदेखि पावर हाउससम्मको पेनस्टक पाइपको ढुवानीको तयारी भइरहेको कम्पनी सचिव विमलले जानकारी दिए । पेनस्टक पाइपका लागि १० टन क्षमताको रोपबेको निर्माणकार्य शुरु भएको छ । घलेम्दी खोलाको धार परिवर्तन गरी दुवैतर्फबाट ड्याम, इन्टेकको काम भइरहेको छ । सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिनेछ ।

रु ३८ करोड ५० लाख संस्थापक शेयर रहेको आयोजनामा विभिन्न वित्तीय संस्थाले लगानी गरेका छन् । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरिद गर्नेछ । वार्षिक रु साढे १३ करोड बराबरको विद्युत् खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने जनाइएको छ ।