साहित्य

लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी डा गुरुङ सम्मानित

पोखरा । लेखनाथ साहित्य प्रतिष्ठानले सञ्चालन गरेको यस वर्षको लेखनाथ साहित्य पुरस्कारबाट संस्कृतिकर्मी एवं साहित्यकार डा जगमान गुरुङ सम्मानित भएका छन् ।

कविशिरोमणि लेखनाथ पौड्यालको १३४ औँ जन्मजयन्तीको त्रिदिवसीय कार्यक्रमअन्तर्गत आज उनको जन्मस्थल लेखनाथको अघौंअर्चलेमा भएको मूल समारोहमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रु ५० हजार राशिको सो पुरस्कारबाट डा गुरुङलाई सम्मान गरेका थिए ।

कविशिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको परिवारबाट सो पुरस्कार स्थापना गरिएको हो । नेपाली संस्कृति र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत डा गुरुङलाई सो पुरस्कारबाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले बताए ।

कास्कीको मादी गाउँपालिकाको याङजाकोटमा जन्मेका गुरुङका छवटा सांस्कृतिक तथा अनुसन्धनात्मक कृति प्रकाशित छन् । उक्त पुरस्कारबाट यसअघि नेपाली शिक्षा परिषद्, प्रा डा वासुदेव त्रिपाठी, मदनमणि दीक्षित, धर्मराज थापा, डा मोदनाथ प्रश्रित, मुकुन्दशरण उपाध्याय र प्रा बालकृष्ण पोखरेल सम्मानित भइसकेका छन् ।

सो समारोहमा विभिन्न शैक्षिक पुरस्कार र छात्रवृत्ति पनि वितरण गरिएको छ । कार्यक्रममा कवि शिरोमणिकी छोरी कुन्तीदेवीको नाममा स्थापना गरेको रु १० हजारको कुन्तीदेवी शिक्षा पुरस्कार र प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले आफ्ना पिताको नाममा स्थापना गर्नुभएको पाँच हजारको चन्द्रकान्त ढकाल शिक्षा पुरस्कार शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयकी छात्रा ज्योत्सना जोशीलाई प्रदान गरिएको छ ।

त्यसै गरी रु पाँच हजारकै चन्द्रकान्त ढकाल पुरस्कार लिटिल स्टेप माध्यमिक विद्यालयका छात्रा टेकप्रसाद शर्मा काफ्लेलाई प्रदान गरिएको छ । यस्तै जनही रु पाँच÷पाँच हजारका मधुमाया ढकाल छात्रवृत्ति जनज्योति माध्यमिक विद्यालयकी छात्रा मञ्जु गुरुङ र फणीन्द्रकुमारी ढकाल छात्रवृत्ति लक्ष्मी आदर्श माध्यमिक विद्यालयका छात्र सन्तोष ढकाललाई दिइएको छ । कवि शिरोमणि आधारभूत विद्यालयका पाँच विद्यार्थीलाई रु १० हजारको छात्रवृत्ति प्रदान गरिएको छ ।

कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभाका सदस्य दीपक कोइराला, कुलपति उप्रेती, पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, गायिका हरिदेवी कोइराला, प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाललगायतका वक्ताले मन्तव्य व्यक्त गरे ।

लेखनाथ साहित्य पुरस्कार, कुन्तीदेवी छात्रवृत्ति तथा शिक्षा पुरस्कारका लागि कवि शिरोमणि पौडेलको परिवारजनले रु १२ लाख एक हजार र पदमराज ढकालले रु एक लाख ७७७ गरी रु १३ लाख एक हजार ७७७ अक्षयकोष खडा गरेका छन् ।