राजनीति

कमल थापालाई ‘पापी’ भन्दै दिनानाथ गिरि माओवादीको शरणमा !

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र भर्खरै माअ‍ोवादी केन्द्रमा प्रवेश गरेका राप्रपा नेता एवं शहरी विकास मन्त्री दिनानाथ गिरिबीच वाक् युद्ध सुरु भएको छ । गिरि राप्रपा परित्याग गरि भर्खरै माअ‍ोवादी प्रवेश गरेका हुन् ।

‘राजनीतिमा उनले जुन खालको नङ्नता प्रदर्शन गरिरहेका छन्, यो नग्नताका कारण उनको सात पुस्तासम्म बदनाम हुने स्थिति बनेको छ’ एक अन्र्तवार्तामा मन्त्री गिरिले भनेका छन्, ‘हाम्रा पुर्खा कमल थापाले हाम्रो परिवारको बेइज्जति गराए भनेर सात पुस्तासम्मका सन्तान दरसन्तानहरुले उनलाई धिक्कारिरहनेछन् ।’

राप्रपा अध्यक्ष थापामाथि आक्रामक रुपमा प्रस्तुत भएका गिरिले कमल थापामा नैतिकता भए तत्काल राजीनामा दिनुपर्ने तर्क अगाडि सारेका छन् । साथै उनले थापाजस्ता लोभी पापी नेताले कहिल्यै राजीनामा नदिने बताएका छन् ।
‘राजीनामा दिइसकेको व्यक्तिलाई बर्खास्तीका लागि पत्र पठाउने होइन, थापामा अलिकति पनि नैतिकता छ भने उनी आफैले राजीनामा दिनु पर्ने हो ।’ उनले थपे, ‘तर मलाई थाहा छ, थापाजस्ता अकर्मण्य, लोभी,पापी राजनीतिक व्यक्तिले राजीनामा दिँदैनन् ।’

गिरिको स्वार्थ के छ ?

भर्खरै सम्पन्न चिर्वाचनमा थ्रेशहोल्ड कटाउन नसकेको राप्रपामा आफ्नो मन्त्री बन्ने ‘चान्स’ नदेखेपछि उनी ‘साइड’ लागेका हुन् । मन्त्रीका आकांक्षी गिरि तत्काल काँग्रेस नेतृत्वको सरकार निर्माण नहुने छनक देखेपछि माओवादीमा होमिएको स्रोतले बतायो ।

कमल थापाले के भने ?

राप्रपा अध्यक्ष कमल थापा पनि गिरिमाथि निकै आक्रोश पोखिरहेका छन् । एक त थापालाई आफैं र सिङ्गो पार्टी चुनाव हारेको झोंक बाँकी नै थियो । झन् गिरिले मन्त्रीबाट राजीनामा दिएर माओवादी केन्द्रमा प्रवेश गर्नुले असह्य भएको छ । वाम गठबन्धनको सरकार बन्ने बेलामा गिरि माअ‍ोवादीमा जानुले सरकारमा मन्त्री पद पाइने लोभ भएको थापा बताउँछन् ।

सामाजिक सञ्जालमा निकै आक्रोशित रुपमा प्रस्तुत भएका थापाले नयाँ सरकार गठन हुनलागेको अवस्थामा मन्त्रालयको सचिव सरुवा उपयुक्त नुहने बताए । उनले भनेका छन्, ‘दिलनाथ गिरी पदमुक्त– चुनाव सम्पन्न भै केही हप्तामा नयाँ सरकार गठन हुनलागेको अवस्थामा मन्त्रालयको सचिव सरुवा उपयुक्त हुंदैन । मन्त्री पदको मर्यादा कायम राख्न नसक्ने, पार्टी अनुशासन उल्लंघन गर्ने तथा निहित स्वार्थकालागि पार्टीलाई बदनाम गर्ने प्रयासलाई नियन्त्रण गर्नु पार्टीको कर्तब्य हो ।’

प्रायः सबै सरकारमा सहभागीता जनाएका थापा प्रदेश र प्रतिनिधिसभाको चुनावमा नराम्ररी चिप्लिएपछि तनावमा छन् । पार्टीका सनकै प्रभावशाली नेता मानिएका गिरिले छोडेपछि थापा झनै तनावमा छन् । उनी अब पार्टी एकीकरण गर्ने वा महाधिवेशन बोलाएर चुनावी समिक्षा गर्दै अगाडि बढ्ने भन्ने दोधारमा रहेका छन् ।