राजनीति

राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार बन्छः नेता पाण्डे

काठमाण्डौ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सोम प्रसाद पाण्डेले राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा भएको उक कार्यक्रममा नेता पाण्डेले संविधानमा स्पष्ट रहेकाले नयाँ सरकार गठबनमा बाधा नपुग्ने बताए ।

‘संविधानले नै स्पष्ट पारेको छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभा गठन नभएपनि हुन्छ, त्यसैले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ’, पाण्डेले भने, ‘अब सरकार गठनको प्रक्रिया हामी सुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनको लागि राष्ट्रिय सभाको गठन नभएपनि हुन्छ ।’

उनले वाम गठबन्धनलाई जनताले बहुमत मात्रै नभएर झण्डै दुई तिहाई मत दिएको स्पष्ट पारे । उनले भने, ‘चुनाव चिन्हका कारण दुई तिहाई मत आउन सकेन, तर हामी झण्डै दुई तिहाईको नजिक छौं ।’

पाण्डेले तत्काल एमाले र माओवादी केन्द्रवीच पार्टी एकीकरण प्रक्रिया पनि सुरु हुने विश्वास दिलाए । उनले भने, ‘कामको हिसावले हामी एउटै कमिटीजस्तो छौं, अब माओवादी र एमाले एउटै पार्टी भईसके, जनताले एकता अनुमोदन गरिसक्नुभएको छ ।’

उनले दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सल्लाहबाट सबै कुरा टुंगो लाग्ने पनि विश्वास दिलाए ।