राजनीति

सरकारमा जान आत्तिएका वाम गठबन्धनका नेतालाई विश्वकर्माले दिए मुख भरीको जवाफ, के भने ?

काठमाण्डौ । नेपाली काँग्रेसका नेता एवं वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार फागुन अगाडि नबन्ने दाबी गरेका छन् । साथै उनले राष्ट्रिय सभाको निर्वाचन गराएर मात्र सरकार छाड्ने बताए ।

शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने जिकिर गरे ।

‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्नुभयो, उहाँहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५ दिनको समय तोक्छ, त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘हामी त आयोगलाई सहजीकरण गर्ने हो, यसरी हेर्दा सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्छ ।’

उनले नयाँ सरकार गठनपछि आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पारे ।

‘काँग्रेस प्रतिपक्षमा बस्न तयार छ, हामी रचनात्मक भूमिका निर्वाह गर्छौं, संविधानको पूर्ण कार्यान्वयन र समावेशी–समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्छौं’, उनले भने, ‘सरकारले आयु लम्ब्यायो भन्ने गलत हल्ला हो, यस्तो खाले टिकाटिप्पणीमा कुनै सत्यता छैन, हामी संवैधानिक बाटोहरु पहिल्याउँदै हिँड्छौं ।’

उनले वाम गठबन्धनवीच सहकार्य र एकता होस् भन्ने आफूहरुको शुभकामना रहेको बताए । ‘हाम्रो शुभकामना छ, एमाले र माओवादीवीच एकता होस्, गठबन्धन कायमै रहोस्, उनले थपे ।

उनले भने,‘एकजना अध्यक्ष बन्नास्, एकजना प्रधानमन्त्री बन्नोस, हाम्रो शुभकामना छ, तर शुभकामना दिएरमात्रै हुँदैन, व्यवहारमा चल्दैन रैछ, बाम गठबन्धनमा अहिले प्रधानमन्त्री र अध्यक्षलाई लिएर खटपट भैरहेको सुनिँदैछ, यो राम्रो होईन् ।’

त्यस्तै उनले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई लिएर केही युवा नेताहरुले नेतृत्वबाटै हटाउने भन्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा जवाफ दिँदै भने,‘पार्टी भनेको कुनै एक अमुक व्यक्ति होईन, यो त संगठन हो, हाम्रो सभापति शेरबहादुर देउवा कसैले टिका लगाएर सभापति बन्नुभएको होईन, महाधिवेशनबाट निर्वाचित हुनुभएको हो ।’ उनले पार्टी सभापति देउवामाथिको टिप्पणी गर्नु नै मुर्खता भएको आरोप लगाए ।

उनले यो निर्वाचनमा पनि पार्टीको मत नघटेको उल्लेख गर्दै थपे,‘उहाँको नेतृत्वमा बरु पार्टीको ईमेज वृद्धि भएको छ, प्रत्यक्षतर्फ ३५ प्रतिशत र समानुपातिकतर्फ ३३ प्रतिशत मत खसेको छ, गणितीय हिसावले हामी पछि परेका हौं, तर राजनीतिक हिसाबले हामी एक नम्बर पार्टी हौं ।’

उनले युवा नेता गगन थापाले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालेको पनि बताए । उनले भने,‘जसले हिजोका दिनमा सस्तो अभिव्यक्ति दिए, तीनीहरुले अहिले आफ्नो अभिव्यक्ति सच्याईसके, उत्ताउलो बन्नु गलत हो, जसले बोल्यो त्यो उत्ताउलो र उच्छृङ्खल अभिव्यक्ति हो, युवाको अभिव्यक्ति थिएन, त्यो त वालक हो ।’