राजनीति

प्रकाशमान सिंहले वाम गठबन्धनका नेतालाई हल्लाको पछि नलाग्न भनेपछि…

काठमाण्डौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् ।

भिएस निकेतन बुथ समितिले आज काठमाण्डौ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उनले सरकारले पाएको जिम्मेवारी पूरा गरेपछिमात्र सत्ता हस्तान्तरण हुने बताए ।

‘बाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाउनुभएको छ, त्यो हल्लाको पछाडि नलाग्नुहोस्, हामी निर्वाचनको प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ’, उनले भने ।

नेता सिंहले राष्ट्रपतिबाट शुक्रबार जारी भएको राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशले राष्ट्रिय सभामा सबै समूदायको प्रतिनिधित्व हुने उल्लेख गरे । पार्टीका पूर्व महामन्त्री सिंहले जनताको जनमतलाई शिरोधार्य गरेर कांग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे ।