अन्तर्राष्ट्रिय

इजिप्टमा चर्च नजिकै आक्रमण, दश जनाको मृत्यु

कायरो। कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडी एक बन्दूकधारीको समूहले गरेको आक्रमणमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।
सरकारी सुरक्षा निकायले आक्रमणकारीहरुको पहिचान गर्न असफल भएको सरकारी संचार माध्यमले जनाएको छ ।
“कायरोको हेल्वान जिल्लामा रहेको मार मिना चर्चमा आक्रमण भएको हो, तर आक्रमणकारीहरुको पहिचान हुन सकेको छैन,” गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आक्रमणकारी मध्येकै एक जना मारिएको र अर्को एक जना मोटरसाइकलमा भागेको देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दोहोरो गोली हानाहानमा परी प्रहरी तर्फका दुई जनाको पनि मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
इजिप्टका स्वास्थ्य मन्त्रीले मृत्यु हुनेहरुको सङ्ख्या दश पुगेको बताएका छन् । उनले अरु पाँच जना घाइते भएको पनि बताउनु भयो । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
मारिने मध्ये दुई जना मुस्लीम रहेका छन् । एक जना आक्रमणकारी, एक जना प्रहरी र आठ जना कम्पट चर्चका सदस्य मारिएको स्वास्थ्य मन्त्रीले जानकारी दिनुभयो ।
चर्चलाई नै लक्षित गरेर विस्फोटन गर्न लागिएको दुई ओटा बम बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको छ ।
घटना लगत्तै सुरक्षाकर्मीहरुले घटनास्थल वरिपरी लडाकूहरुको खोजी गरेको सरकारी समाचार संस्था मेनाले जनाएको छ । आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।