राजनीति

राजा वीरेन्द्रको मुलुकका लागि अतुलनीय योगदान भएको दावी

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्रले मुलुक र जनताको हितमा योगदान गरेका कारण उनलाई राष्ट्रवादी नेताका रुपमा सदैव नयाँ पुस्ताले सम्मान गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले उनको ७३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘श्री ५ वीरेन्द्र एक बहुआयामिक व्यक्तित्व’ विषयको गोष्ठीमा सहभागी वक्ताले उनी कुशल नेतृत्वकर्ताका साथै राजनीतिक विश्लेषक भएको बताए ।

पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राजा वीरेन्द्रले मुलुकका सबै क्षेत्रमा सन्तुलित विकास गर्ने उद्देश्यले पाँच विकास क्षेत्रको अवधारणा ल्याएको स्मरण गर्दै उनलाई आफूले देश र जनतालाई माया गर्ने अभिभावकका रुपमा आफूले पाएको विचार व्यक्त गरे ।

पार्टी अध्यक्ष कमल थापाले नेपालको भौगोलिक अवस्थालाई बुझेर यहाँ हुन सक्ने हस्तक्षेपलाई रोक्न शान्ति क्षेत्र बनाउनका लागि प्रस्ताव प्रस्तुत गरेर दूरदर्शिता देखाएको बताए । उनले विगतका कमजोरीमाथि समीक्षा गरी विभिन्न पार्टीमा विभाजित राप्रपालाई अब एकताबद्ध बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले विसं २०४६ मा भएको जनआन्दोलन दबाउनका लागि दक्षिणबाट आएका राष्ट्रघाती सन्धिका प्रस्तावलाई अस्वीकार गरेर राजा वीरेन्द्रले जनतालाई अधिकारसम्पन्न बनाउन योगदान गरेको बताए । पूर्वमन्त्री रमेशनाथ पाण्डेले मुलुकमा नयाँ शिक्षा नीति कार्यान्वयनका लागि राजा वीरेन्द्रले देखाएको अग्रसरताको सराहना गर्दै उनले विशेषगरी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरेर मुलुकको अस्तित्वलाई संरक्षण गरेको विचार व्यक्त गरे । विसं २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा परी वीरेन्द्रसहित उनका परिवारको निधन भएको थियो ।