पर्यटन/संस्कृति

पर्यटन क्षेत्रसँग मिलेर काम गर्दै उपभोक्ता समूह

अर्जुनधारा, झापा। पर्यटन व्यवसाय फष्टाउँदै गएपछि अर्जुनधारा नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समूहले सो क्षेत्रसँग मिलेर काम गर्न थालेका छन् ।

नगरपालिकामा रहेका जुकेखाडी, हचुमासा र हलुवागढ सामुदायिक वन उपभोक्ता समूहले पर्यटन क्षेत्रसँग जोडिएर काम गर्न थालेका हुन् । चालु आवमा जुकेखाडीले रु १२ लाखदेखि रु १५ लाख र हलुवागढले रु ७० लाख बराबरको काम गरेको छ ।

हचुमासाले गत आवमा ३० हेक्टर जग्गामा रु १० लाख बराबरको काम सम्पन्न गरेको समितिका अध्यक्ष रामबहादुर निरौलाले बताए । काम गर्न १७ सदस्यीय पर्यटन सम्भाव्यता समिति गठन गरिएको छ । “हामीले सामुदायिक वनलाई पर्यटनसँग जोडेर काम गर्न थालेका छौँ,” उनले भने ।

जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेल वनलाई वैकल्पिक स्रोतको रुपमा लिई काम गर्न थालेको बताउछन् । सो क्षेत्रमा पोखरी निर्माणको लागि जिल्ला भूसंरक्षण कार्यालयसँग सम्झौता भइसकेको उनले बताए । वनभोजस्थल निर्माण, धारा जडान, विद्युत् विस्तार तथा वन क्षेत्रमा रहेको रुखबिरुवामा रंगरोगन लगाउने काम भइरहेको छ ।

हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्रप्रसाद तामाङले वन पैदावर बिक्रीसँगै पर्यटन क्षेत्र पनि आम्दानीको राम्रो स्रोत हुने हुँदा समूहले पर्यटन क्षेत्र निर्माणको योजना ल्याएको बताए । गत भदौबाट वनको छ हेक्टरमा डुंगा शयरका लागि पोखरी, वनभोजस्थल, भ्यूटावर, बाल उद्यान, वन्यजन्तु आरक्षण केन्द्र, विभिन्न बहुउपयोगी प्रजातिका बिरुवाको संरक्षण गर्नेलगायत काम भइरहेको छ ।

“करिब ४० लाख खर्च भइसकेको छ,” उनले भने । वैशाखसम्म काम सम्पन्न हुनेछ ।

सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक स्रोत परिचालन गरी पर्यटन क्षेत्रसँग जोडिएर शुरु गरेको काम नमूना काम भएको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

अर्जुनधारा नगरपालिका–९ सालबाडीमा रहेको नमूना सामुदायिक वन उपभोक्ता समूहको २२.४ हेक्टर जग्गामा २०७० सालदेखि सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको प्रवद्र्धनमा सुखानी शहीद स्मृति उद्यान सञ्चालनमा छ । विसं २०२९ फागुन २१ गते शहादत प्राप्त गरेका शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको स्मारक तथा शहीद स्मृति उद्यान निर्माणका लागि सो जग्गा प्रतिष्ठानलाई प्राप्त भएको हो ।