स्वास्थ्य

नेपालमा पहिलो पटक क्षयरोगीको सर्वेक्षण शुरु

भक्तपुर । नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था वारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक निर्देशक डा केदार नरसिंह केसीले बताए ।

उनले भने– “देशभरका हिमाल, पहाड र तराईलाई समेटने गरी ५५ जिल्लाका ९९ वटा क्लष्टर छुट्याइ करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घर मै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आँकलन गर्न गरिने सर्वेक्षणका लागि पूर्व तयारी प्रशिक्षण कार्य सम्पन्न भएको छ ।”

केन्द्रका योजना प्रमुख अनिल थापाले नेपालमा प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगी भएको तथ्यांक छ तर मुलुकमा ५८ देखि ६० हजारको संख्यामा क्षयरोगी हुनसक्ने आँकलन रहेको जानकारी दिए ।

यस वर्षमात्रै ४४ हजार नयाँ क्षयरोगी थपिएको भए पनि दुई हजार ५५७ जना मात्रै दर्तामा रहेको जानकारी दिँदै उहाँले जनवरीदेखि भक्तपुर, सिन्धुली, दोलखाबाट पाईलटिङका रुपमा सर्वे शुरु गर्न लागेको जानकारी दिए । प्रमुख थापाले भन्नुभयो– “जनवरीबाट तीन जिल्लामा पाइलटिङका रुपमा शुरु हुने सर्वे थप ५५ जिल्लामा गरी कुल ५८ जिल्लामा हुनेछ, यसमा करिब ६० हजारको छातीको एक्सरे, खकारलगायतको परीक्षण हुनेछ ।”

यसबाट नेपालमा क्षयरोगको अवस्था कस्तो छ, बिरामी निको हुने दर कस्तो छ, नयाँ बिरामी थपिने दर कस्तो छ, नयाँ र पुराना क्षयरोगी कति छन् भन्नेलगायतका क्षयरोगको अवस्थाबारे जानकारी लिन सकिने दाबी उनकोे छ ।

दामियन फाउण्डेशन नेपालका प्रतिनिधि डा सुशील कोइरालाले नेपालमा शुरु भएको छोटो अवधिको उपचार विधि र सर्वेक्षणले क्षयरोग उन्मूलनमा सफलसिद्ध हुने दाबी गरे ।

राष्ट्रिय क्षयरोग कार्यक्रमले अल्पकालीन र दीर्घकालीन रुपमा रणनीतिक योजना बनाएर कार्य गर्ने गरेको बताउँदै केन्द्रका निर्देशक केसीले समस्याको पहिचान गरेर सोको समाधान गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरी सन् २०१६ देखि २०२१ सम्मको राष्ट्रिय रणनीतिक योजना तयार पारेर कार्यान्वयन भइरहेको बताए।

त्यसैगरी राष्ट्रिय क्षयरोग कार्यक्रममार्फत सन् २०५० सम्ममा नेपाललाई क्षयरोग मुक्त देश बनाउने लक्ष्य लिएको नेपाल सरकारले फोक्सोका क्षयरोगका बिरामीका लागि छोटो अवधिको उपचार विधि शुरु गरेको छ । केन्द्रका निर्देशक डा केसीले क्षयरोगीका लागि छोटो अवधिको उपचार विधि शुरु गरेको जानकारी दिए ।

केन्द्रले फोक्सोको क्षयरोगीका लागि नौ महिने विशेष उपचार विधि काठमाडौँ, विराटनगर, बुटवल र नेपालगञ्जबाट शुरु गरेको बताउँदै यसका लागि आवश्यक पर्ने सबै औषधि दामियन फाउण्डेशन बेल्जियमले राष्ट्रिय क्षयरोग केन्द्रलाई उपलब्ध गराएको छ ।

हाल भइरहेको उपचार विधिमा आठ महिनादेखि १२ महिनासम्म सुईसमेत लिएर औषधि सेवन गरी उपचार गर्नुपर्नेमा अब शुरु हुने उपचार विधिमा चार महिनादेखि छ महिनासम्म सुई मात्र लिए पुग्ने र नौ महिना औषधि खाए क्षयरोग निको हुनेछ । निर्देशक केसीले चालु आव ०७४÷०७५ को अन्त्यसम्म नौ महिने छोटो उपचार विधि सेवा विस्तार गर्दै लैजाने उनले बताए ।

अस्पतालका छाती रोग विशेषज्ञ डा मोहनकुमार प्रसाईंले सन् २०१६ मा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भइसकेकाले नेपालमा यो उपचार विधि शुरु गरेको जानकारी दिए । हाल विश्वका ३८ वटा देशमा सञ्चालन भइरहेको नौ महिनो छोटो उपचार विधि नेपालमा पनि शुरु भएको भन्दै उनले यसको प्रभाव र परिणामको दर करिब ८५ प्रतिशत रहेको उनको भनाइ छ ।

नेपालमा सन् २००५ (२०६२) देखि बहु–औषधि प्रतिरोधी क्षयरोगको उपचार विधि भक्तपुर, पोखरा, विराटनगर, नेपालगञ्ज र कञ्चनपुरमा नमूनाको रुपमा शुरु भई हाल १८ वटा उपचार केन्द्र र ८६ वटा उपकेन्द्रबाट वार्षिक करिब ४५० जना बहु–औषधि प्रतिरोधी क्षयरोगीको उपचार भइरहेको छ ।

यो उपचार विधिमा धेरै औषधिको मिश्रण गरी २० देखि २४ महिनासम्म निरन्तर औषधि सेवन गरी सुईमार्फत समेत औषधि लिएर उपचार गर्नु पथ्र्यो। यसबाट औषधिको नकारात्मक प्रभाव पर्ने, औषधिबाट उत्पन्न हुने विषाक्तले समस्या पार्ने, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्न समस्या पर्ने हुंदा पनि यस उपचार विधिको सफलता दर ७० प्रतिशत रहेको थियो ।

यद्यपि बिरामी र परिवारले भोग्नुपरेको कठिनाइलाई ध्यान दिँदै सरकारले नौ महिने उपचार विधि शुरु गरेको हो ।