समाचार

आगलागी पीडितलाई एमालेद्वारा रु एक लाख

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा आगलागी पीडितलाई नेकपा (एमाले) म्याग्दीले रु एक लाख ६ हजारभन्दा बढी राहत सहयोग गरेको छ ।

गत शनिबार दिउँसो आगलागी हुंदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलिजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पीडित भएकालाई नेकपा (एमाले)
म्याग्दीद्वारा संकलन भएको रु एक लाख ६ हजार ११५ सहयोग रकम बिहीबार उपलब्ध गराइएको हो ।

सो रकममध्ये आगलागीबाट ठूलो भौतिक क्षति व्यहोरेका बेगप्रसाद पुर्जालाई रु ९५ हजार ११५ र राजकुमारी तिलिजालाई रु ११ हजार सहयोग गरिएको नेकपा (एमाले) जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिए ।

कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, जिल्ला सचिवालय सदस्य तर्क केसी, सन्तोष रावल लगायतले पीडित परिवारलाई राहत हस्तान्तरण गरेका थिए।

आगलागीबाट घरभित्रको सम्पूर्ण सामानसहित घर, फर्निचर लगायतको सबै सामान जलेर ठूलो क्षति व्यहोरेको समयमा नेकपा (एमाले) म्याग्दीले बेनीमा संकलन गरी उपलब्ध गराएको सो सहयोगले पीडित पुर्जा र तिलिजा परिवारलाई राहत मिलेको भन्दै पीडितले सहयोगदातालाई धन्यबाद ज्ञापन गरेका छन् ।