आर्थिक

पर्सामा हुलाक बचत बैंक लोकप्रिय हुँदै

money

वीरेन्द्र कर्ण
वीरगञ्ज । एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिकन सकिने । त्यति मात्र होइन, एक सय रुपैयाँमा खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने हुँदा निम्न आयस्तर भएका पर्सावासीमा हुलाक बैंकिङ सेवा लोकप्रिया बन्दै गएको छ ।

हुलाक कार्यालयमा संचारसेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राही बढ्न थालेपछि जिल्ला हुलाक कार्यालय पर्सा वीरगञ्जका कर्मचारी सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा बढी व्यस्त हुन्छन् ।

कार्यालयमा पुग्दा यो हुलाक होकी बैंक हो, जो कसैलाई पनि छुट्याउन गाह्रो हुन्छ । सजिलो सेवा, दोब्बर ब्याजदर र सुरक्षित बचत भएका कारण हुलाक कार्यालयले शुरु गरेको हुलाक बचत बैंक पर्सावासीमा लोकप्रिय बन्न थालेका छन् ।

विसं २०३३ असार ३१ देखि नै हुलाक सेवा विभागले हुलाक बचत बैंक शुरु गरेको भए पनि लामो समयपछि आएर हुलाक सेवा बंैक निम्न आय भएका वर्गबीच लोकप्रिय हुन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाम वीरगञ्जका निम्न आय भएका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बैंकको रुपमा रहेको हुलाक बचत बैंक लोकप्रिय हुन थालेपछि निम्न आय भएका समुदाय यस बैंकतर्फ आकर्षित हुन थालेको हो ।

न्यून आय भएका व्यक्तिमा समेत केही रकम बचत गर्ने बानीको विकास गराउनु उद्देश्यले खुलेको हुलाक बचत बैंकमा अहिले दैनिकजसो २५ जनासम्म खाता खोल्न आउने गरेको बैंकका प्रमुख चन्द्रदेव दासले बताए । हिजोआज चिठी पत्र तिरभन्दा पनि हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको छ– बैंकका प्रमुख दास भन्छन्– “सुरक्षाका दृष्टिकोणले हुलाक कर्मचारीलाई मात्र अहिले ऋण दिने व्यवस्था छ ।”

यो बैंकमा खाता खोल्ने सेवाग्राहीलाई बचततर्फ छ प्रतिशत, ज्येष्ठ नागरिकलाई सात प्रतिशत, संस्थागततर्फ छ प्रतिशत र १६ वर्षमुनिका बालबालिकालाई छ प्रतिशत ब्याज दिने व्यवस्था छ ।

बैंकका दुई हजार २५३ ग्राहक छन् । आव ०७३/०७४ को आसरसम्ममा यो बैंकले रु छ करोड १३ लाख ५६ हजार ५२३ जम्मा गरेको छ भने रु दुई करोड ५१ लाख दुई हजार ८५०े लगानी गरेको छ ।

यसैगरी बैंकले रु चार करोड ५५ लाख २१ हजार ३७२ ऋण असुल गर्न बाँकी रहेको जनाएको छ । केन्द्रीय धरौटी खातामा रु ९२ लाख ६७ हजार ६९९ मौज्दात रहेको बैंकले जनाएको छ ।

अन्य व्यवसायी बैंकभन्दा भरपर्दो, खाता खोल्न र रकम झिक्न सजिलो, कम आय भएका र सामान्य लेखपढ गर्न जान्नेलाई सजिलै हुने भएकाले शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रका महिला यस बैंकप्रति बढी आकर्षित भएका छन् ।

बैंकमा बढ्दै गएको निक्षेपले गर्दा लगानीको अन्य ठाउँ खोज्न थालिएको छ । पर्सामा जुन लोकप्रियता हुलाक बचत बैंकले पाएका छन्, त्यसको आधार भने ग्रामीण क्षेत्रका महिला समूह नै हुन् ।

हुलाक बचत बैंक अन्यत्र व्यावसायिक लगानीका क्षेत्र खोज्नुभन्दा महिला समूहमार्फत ग्रामीण क्षेत्रको विकासमा लगानी गर्न सक्यो भने यसको प्रभावकारिता झन बढ्न जाने विश्वास कर्मचारीको छ ।

बचत खाताको मात्र कारोबार हुने र बचतकर्तालाई दिनुपर्ने ब्याज सरकारले व्यहोर्ने कानूनी प्रावधानका कारण हुलाक बचत बैंकप्रति जनमानसमा आकर्षण बढ्दै गएका छन् ।