कृषि

चिया खेतीका लागि रु ७५ लाख

भोजपुर । भोजपुर जिल्लाको आमचोक गाउँपालिकामा चिया खेतीका लागि ठूलो रकम विनियोजन गरिएको छ ।

चिया खेती गर्ने किसानलाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्ने गरी रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । स्थानीय सरकार निर्माण भएपछि पहिलो पटक सम्पन्न गाउँपरिषद्ले चिया खेती विस्तारका लागि रु ७५ लाख रकम विनियोजन गरेको जनाएको छ । रकम सोही गाउँपालिकाको मातहतमा रहनेछ ।

चिया खेतीका लागि प्रशस्त सम्भाव्यता बोकेको जिल्ला भोजपुरमा हाल यहाँका किसानले फाट्फुट रुपमा चिया खेती गर्ने गरेको भएपनि व्यावसायिक रुपमा चिया विस्तार नभइरहेको स्थानीयवासी दीपक राईले जानकारी दिए । गाउँपालिकाको निःसर्त र सशर्त गरी कूल रु २६ करोड ६३ लाख रकममध्ये रु ७५ लाख चिया खेतीका लागि विनियोजन हुनु स्थानीयवासीका लागि खुशीको कुरा भएको उनले बताए ।

यसअघि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोजपुरको आमचोक गाउँपालिकाको समेत नमूना माटो परीक्षण गर्दा चिया खेतीका लागि उपयुक्त ठाउँ मानेको छ ।