पर्यटन/संस्कृति

पर्यटकीय क्षेत्र कन्याममा सडक विस्तार तीब्र

इलाम । मेची राजमार्गको कन्याम खण्डमा १५ मिटर कायम गर्न शुरु गरिएको छ ।

सूर्योदय नगरपालिकाले सडक डिभिजन कार्यालय इलाम र नापी शाखा कार्यालयका प्राविधिकको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल टाँगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ–बायाँ सडक मापदण्डअनुसार बनाउन थालिएको हो । मुख्य सडक अतिक्रमणको चपेटामा परेपछि अतिक्रमण समस्या समाधान समिति गठन गरेर मापदण्डअनुसार बनाउन थालिएको संयोजक शिव बस्नेतले बताए ।

पर्यटकीय क्षेत्र कन्यामको सुन्दरतामा नयाँ रौनक थप्नका लागि पहिलो चरणमा सडक विस्तारका लागि ट्यागिङ शुरु गरेको उनले बताए । नगरपालिकाले बाटो बढाउन लागेको सो क्षेत्र नेपाल चिया विकास निगम अन्तर्गतको संघाई समूहलाई ठेक्कामा दिएको कन्याम चिया बगानको क्षेत्रमा पर्दछ । सडकको क्षेत्र छुट्याइसकेपछि चियाका बुट्टा काट्न शुरु गर्ने र तत्काल सडक क्षेत्रमा निर्माण शुरु गरिने उनले बताए ।

कन्याम क्षेत्रमा सडक विस्तार गर्दा सडक पेटीमा रहेका कतिपय पसल पनि हट्ने देखिएको नापी कार्यालय इलामका सर्वेक्षक मनोजकुमार यादवले जानकारी दिए । सडक ऐन, २०३१ अनुसार मेची राजमार्ग विस्तार गर्नका लागि अतिक्रमण भएको क्षेत्रमा बनाइएका सबै संरचना हटाइने डिभिजन सडक कार्यालयका प्रमुख खड्गप्रसाद श्रेष्ठले बताए ।