पु.समाचार

यातायात व्यवसायीको राष्ट्रिय महाधिवेशन चितवनमा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन माघको १७ देखि १९ गतेसम्म चितवनको नारायणगढमा हुने भएको छ ।

सो महाधिवेशन चितवनमा गर्नका लागि महासंघका कावा अध्यक्ष डोलनाथ खनालको संयोजकत्वमा १०१ सदस्यीय महाधिवेशन मूल समिति गठन गरिएको छ । समितिले आवश्यकताअनुसार विभिन्न उपसमिति गठन गरी मुलुकमा सडकको अवस्था तथा यातायात व्यवसायको क्षेत्रमा भएका प्रगतिको समीक्षा र आगामी दिनमा विकास गर्नुपर्ने व्यावसायिकताबारे छलफल गर्ने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

महासचिव सिटौलाले राष्ट्रिय महाधिवेशनलाई भव्य, सभ्य र मर्यादित बनाउनका लागि गृहकार्य भइरहेको बताउँदै अब महासंघलाई संघीय ढाँचामा लैजानका लागि केन्द्र, प्रदेश र जिल्ला गरी तीन तहको संरचना बनाउने निर्णयसमेत भएको बताए । राष्ट्रिय परिषद्को आज हुने भेलाका लागि देशभरका संघसंस्था तथा प्रालिका अध्यक्ष सहितका पदाधिकारी काठमाडौँ आइसकेका छन् ।