स्वास्थ्य

एकसय चार वर्षीय वृद्धले पनि फिर्ता पाए आँखाको ज्योति

ध्रुवसागर शर्मा
बेनी, म्याग्दी । उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःखलाग्दो हुँदैन । यस्तै दुःख र पीडामा हुनुहुन्थ्यो म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामका १०४ वर्षीय ओमलाल निउरे ।

निउरेका दुवै आँखा दुई वर्षअगाडि बन्द भएपछि उनलाई रात र दिन एकै लाग्थे । उमेरले सतक नाघेका निउरेका आँखा बन्द भएपछि उठ्ने, सुत्ने, खाना खाने, शौचालय जाने सबै काममा परिवारका सदस्यहरुले सहयोग गर्नुपथ्र्यो ।

दृष्टि बन्द भएपछि परिवारका सदस्यलाई समेत देख्न नपाएका निउरेले बोलीबाट पहिचान गर्ने गर्थे । निकै कष्टपूर्ण तरिकाले दुई वर्ष बिताउनुभएका निउरेको दैनिकीमा अब भने परिवर्तन आएको छ । दैनिकीमा परिवर्तनसँगै उनको अनुहारमा मुस्कान र मनमा खुशी पनि फर्किएको छ । उहाँ पुनः आँखा देख्नसक्ने भएका छन् । यो खुशी उनलाई दरवाङमा मंगलबार सम्पन्न बृहत् आँखा शिविरले दिएको हो ।

पश्चिम म्याग्दीको दरवाङमा एक व्यक्तिको आर्थिक सहयोगमा लायन्स क्लब अफ म्याग्दी, दरवाङको व्यवस्थापनमा गत आइतबारदेखि सञ्चालित शिविरबाट ४६ जनाले नयाँ दृष्टि पाएका छन् भने ७०२ जनाले उपचार गराएका छन् ।

नयाँ दृष्टि पाउनेमा १४ जना ८० वर्ष उमेर पार गरेका छन् । दुई वर्षपछि पहिलोपटक आफ्ना छोरा खडानन्द निउरेलाई देखेपछि फुरुंग भएका १०४ वर्षीय ओमलाल निउरेले खुशी हुँदै भने, “यो उमेरमा पनि मैले अर्को जन्म पाएँ ।” निउरेको दुवै आँखाको शल्यक्रिया गरेर शिविरको उद्घाटन गरिएको थियो । आँखा देख्ने भएप्छि निउरे हिँडेर आफ्नो घर फर्किसकेका छन् ।

निउरे जस्तै मालिका गाउँपालिका–५ देविस्थानका ८२ वर्षीय पूर्णबहादुर शेरचन, धौलागिरि गाउँपालिका–७ ताकम मच्छिमकी ८४ वर्षीया लिलसरा विक लगायतले नयाँ दृष्टि पाएका छन् । आँखाको शल्यक्रिया लगत्तै नजिकै रहेका आफन्तलाई समातेर मुसुक्क हाँसेर उनीहरुले चारैतिर छक्क पर्दै हेरेपछि चिकित्सकसहित स्वास्थ्यकर्मीसमेत दङ्ग परेका थिए ।

हिमालयन आँखा अस्पताल, पोखरा, जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दी र दरवाङ प्राथमिक स्वास्थ्य चौकी, दरवाङको प्राविधिक सहयोग, दरवाङस्थित लियो र लायन्स क्लबको आयोजनामा सम्पन्न तीनदिने आँखा एवम् बृहत् स्वास्थ्य शिविरको सम्पूर्ण आर्थिक सहयोग मलेसियामा व्यवसाय गर्ने बेनी नगरपालिका–१, रत्नेचौर स्थायी घर भएका दीपक बोगटीले गरेका हुन् ।

उनले आफ्ना स्व पिता ओमबहादुर बोगटी र भाइ लोकेश बोगटीको स्मृतिमा शिविरमा आर्थिक सहयोग गरेको बताए । आँखा शिविरबाट ७०२ र बृहत् स्वास्थ्य शिविरमा ८५७ जनाको निःशुल्क स्वास्थ्य जाँच, शल्यक्रिया र औषधि वितरण गरिएको लायन्स क्लब अफ दरवाङकी अध्यक्ष याममती रोकाले बताए । आँखा शिविरमा ४६ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेको उनले जानकारी दिए। “शिविरमा अपेक्षा गरेभन्दा धेरै बिरामी आएका थिए । आगामी वर्ष पनि शिविर सञ्चालन गरिनेछ”, रोकाले भने ।

“बन्द भएको आँखा खोल्ने डाक्टर भगवान हुन्, उनहरूलाई सधैँ राम्रो हुन्छ”, शल्यक्रियामा संलग्न चिकित्सकलाई आशीर्वाद दिँदै ८२ वर्षीय एकजित शेरचनले भने । उनले आँखाले देखेपछि नयाँ जीवन पाएको बताए । “आफूले गर्नसक्ने काम पनि आँखाको समस्याले परिवारको सहयोग लिनुपर्ने अवस्था थियो, अब त युवा अवस्थामा फर्किएको महसुश गरेको छु”, शेरचनले उत्साहित हुँदै भने।

प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमीसमेत रहेकी याममती रोकाले वृद्धवृद्धाले आँखा शल्यक्रियापछि खुशी साटासाट गरेको दृश्यले मानवीय सेवालाई निरन्तरता दिन थप आत्मबल बढेको बताए । उनका अनुसार एकजना बिरामीको थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

शिविरमा अधिकांश दाहिने आँखामा समस्या भएका बिरामी आएका थिए । शिविरमा बिरामीलाई चस्मा, औषधि लगायतका आवश्यक सामग्री उपलब्ध गराइएको थियो । शिविरमा आर्थिक सहयोग गरेका बोगटीले दुई वर्षअगाडि समेत उत्तरी पर्वतको मल्लाज, म्याग्दीको रघुगंगा गाउँपालिकाको पाखापानी, भगवती, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र मंगला गाउँपालिकाको बाबियाचौरमा आँखा उपचार शिविर आयोजना गरेका थिए ।

शिविरमा ११८ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । उक्त शिविरमा बोगटीले चस्मा, औषधिसहित शल्यक्रियामा आवश्यक पर्ने सामग्रीमा रु पाँच लाख सहयोग गरेका हुन् ।

“वृद्धवृद्धाको आँखाको उपचारमा सहभागी हुनु सबैभन्दा ठूलो धर्म हो । मैले आगामी दिनमा पनि यस्ता शिविरमा सहयोग गर्छु”, बोगटीले भने । उनले अनावश्यक क्षेत्रमा चन्दा दिएर, भोजभतेरमा खर्च गर्ने पैसालाई दुःखी गरिबको सेवामा समर्पित गर्नु नै मानवीय धर्म भएको बताउँदै जिल्लाका अति दुर्गम क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धतासमेत जनाए ।