मनोरञ्जन

‘पाल्पा लोक आइडल’ हुने

पाल्पा । पाल्पामा लोकसंस्कृतिको जगेर्ना गर्न जिल्लामा ‘पाल्पा लोक आइडल’ को आयोजना हुने भएको छ ।

स्थानीय श्रीनगर सामुदायिक टेलिभिजनको आयोजनामा हुन लागेको सो कार्यक्रम बगनासकाली गाउँपालिकाबाट यही शनिबार शुरु हुनेछ ।

जिल्लाका दुई नगर र आठ गाउँपालिकामा अडिसन (छनोट चरण) हुनेछ । सबै गाउँ र नगरबाट चुनिएकाबीच तानसेनमा पुनः प्रतिस्पर्धा गराइनेछ ।

“हामीले लोक संस्कृतिको जगेर्ना गर्दै प्रतिभावान लोक कलाकार जन्माउन चाहन्छौँ,” टेलिभिजनका उपाध्यक्ष कमलराज तिमिल्सेनाले भने, “जसले गर्दा लुकेका प्रतिभालाई बाहिर ल्याउन सकियोस् । आइडल बन्नेले नगद रु एक लाख पुरस्कार पाउनेछन् ।”

यस्तै, उत्कृष्ट चारजना कलाकारलाई म्युजिक भिडियो निर्माणका साथै पदक र प्रमाणपत्र पनि प्रदान गरिनेछ । सबै स्थानीय तहका उत्कृष्ट कलाकार १० जनासमेत पुरस्कृत हुनेछन् ।

खेली, झ्याउरे, कौडा र लोकदोहोरी बढी गाइने यस जिल्लाले लोक तथा दोहोरी गीतका चर्चित व्यक्तित्व जन्माइसकेको छ । माथागढी, तिनाउ, रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकामा यसको अडिसन हुनेछ जसमा स्थानीय कलाकारले एकल गायन गर्नेछन् । त्यसपछि अन्य राउण्डमा उनीहरुलाई तानसेनमा पनि गीत गाउन फागुनमा बोलाइनेछ ।