स्वास्थ्य

किस्ट मेडिकल कलेजका संचालकहरु सम्पर्कबिहीन !

ललितपुर । किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्कोमा कार्यरत कर्मचारीको आन्दोलनका कारणले सेवा ठप्प भएको बिहीबार १५ दिन पुगेको छ । तर पनि अस्पताल व्यवस्थापन पक्ष र कर्मचारीबीच एकपटक पनि वार्ता भएको छैन ।

कर्मचारीले अस्पताल व्यवस्थापन पक्षले माग पूरा गर्नुपर्नेडरले वार्तामा नबसी ‘सम्पर्कविहीन’ बनेकोआरोप लगाएका छन् । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, किस्ट अस्पतालका अध्यक्ष रूपेश केसीले अस्पतालका सञ्चालक सम्पर्कविहीनभएको आरोप लगाए । ‘कर्मचारी वार्तामा बस्न तयार छन्,’ उनले भने, ‘तर अस्पताल व्यवस्थापन पक्ष सम्पर्कविहीन भएको छ ।’ उनले अहिले कर्मचारीको हाजिर पनि बन्द गरिदिएको बताए । ‘सरकारबाट पाएको विद्यार्थी भर्ना ९० सिटबाट बढाउने सुरले जानीजानी समस्या अल्झाइरहेको छ,’ उनले भने ।
किस्ट मेडिकल कलेजका वरिष्ठ प्रशासक अक्षयप्रसाद गौतमले ‘कर्मचारीले काम सुचारु गरेमा’ व्यवस्थापन पक्ष वार्तामा बस्न तयार रहेको बताए । ‘काम नगरेकाले हाजिर पनि गर्न नदिएका हौं,’ उनले भने । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, किस्ट अस्पतालले कर्मचारीको हकहित र अधिकार सुरक्षित गरिदिन पटकपटक श्रम कार्यालय, वाग्मती अञ्चल काठमाडौंमा निवेदन दिइसकेको छ । श्रम कार्यालय वाग्मती अञ्चलका प्रवक्ता शिवजीप्रसाद रेग्मीले फेरि वार्तामार्फत समस्या समाधान गर्न दुवै पक्षलाई पहल गर्ने बताए । ‘अस्पताल व्यवस्थापन र कर्मचारी पक्षलाई सँगै राखेर पटकपटक वार्ता गराइसकेका छौं,’ उनले भने, ‘अस्पताल व्यवस्थापनले कर्मचारीको माग सम्बोधन गर्ने आश्वासन दिएअनुसार पूरा गरेका छैनन् ।’ कर्मचारीको सेवा–सुविधाबारेमा अस्पताल प्रशासन र कर्मचारीबीचको सम्झौता भएको दुई वर्ष बितिसक्यो । कर्मचारीले माग सुनुवाइप्रति ६ महिनादेखि अस्पताल व्यवस्थापनलाई ध्यान आर्कषण गराउँदै आएका थिए । नर्सलगायत कर्मचारीले अस्पतालको विनियमावली श्रम ऐनअनुसार हुनुपर्ने, तलबभत्ता समयानुकूल वृद्धि, औषधिउपचार, जोखिम भत्ता र अस्पतालमा ठेकेदारमार्फत कर्मचारी आपूर्ति बन्द गर्नुपर्नेलगायत १५ बुँदे माग राखेका हुन् । कर्मचारीले दिनहुँ अस्पताल परिसरभित्र नाराबाजी गर्ने गरेका छन् ।
ओपीडी र प्रशासन सेवा ठप्प छ । कर्मचारी आन्दोलनमा इमाडोलका स्थानीयवासीले पनि साथ दिएका छन् । निर्वाचन क्षेत्र नं। १ का प्रदेश संसद् माधवप्रसाद पौडेलले अस्पतालमा उपचार गराउन आएका बिरामी फर्कनुपरेरै बीचमा मृत्यु भएमा अस्पताल प्रशासनले जिम्मा लिनुपर्ने बताए । आन्दोलनरत कर्मचारी ३ सय ७५ जना छन् । २०७२ असारबाट प्रत्येक कर्मचारीको मासिक तलबबाट १।५ प्रतिशत र अस्पताल व्यवस्थापनबाट १ प्रतिशत रकम बेहोर्ने गरी खडा गरिएको कर्मचारी कल्याणकारी कोषको रकम पनि हिनामिना भएको कर्मचारीको आरोप छ । कर्मचारीसँग सम्झौताअनुसार कर्मचारी स्वयंले उपचार गराएबापत पाउने ८० प्रतिशत र परिवारलाई गराएबापत पाउने ४० प्रतिशत छुट पनि अस्पताल व्यवस्थापन समितिले दिएको छैन । कान्तिपुरबाट