खेलकुद

कृष्णा र भावना सेमिफाइनलमा

काठमाडौं । पश्चिमाञ्चलकी कृष्णा थापा र मध्यमाञ्चलकी भावना सुनुवार राखेप च्याम्पियनसिप– २०७४ अन्तर्गत १० औं राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । मध्यमाञ्चलकाद्वय विपना ब्लोन र स्वस्थानी श्रेष्ठ पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
क्वाटरफाइनलमा कृष्णाले मध्यमाञ्चलकी सपना ब्लोनलाई ११–४, ११–५ र ११–०, भावनाले पूर्वाञ्चलकी मुस्कान राउतलाई ११–१, ११–२ र ११–३, विपनाले मध्यमाञ्चलकी श्रीमाया लामालाई ११–३, ११–२ र ११–७ तथा स्वस्थानीले मध्यमाञ्चलकी मन्जिला आले मगरलाई ११–७, ११–८ र ११–९ को सोझो सेटमा पराजित गरे । सेमिफाइनलमा स्वस्थानीको भेट कृष्णासंग हुनेछ भने भावनाले विपना विरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुष सिंगल्समा पनि सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा पश्चिमाञ्चलका अमृत थापा मगरले मध्यमाञ्चलका राजेन्द्र शाक्य तथा अरहान्तकेशर सिम्हले मध्यमाञ्चलका छिरी लामासंग प्रतिस्पर्धा गर्नेछन् ।
अमृतले मध्यमाञ्चलका उमिद शाक्यलाई ११–३, ११–७ र ११–१, अरहान्तले नेपाल प्रहरी क्लबका दीपक थापालाई ११–५, ११–५ र ११–६ तथा राजेन्द्रले पश्चिमाञ्चलका पदमबहादुर थापालाई ११–९, ११–८ र १३–११ को सीधा सेटमा हराए । छिरीले मध्यमाञ्चलका सुदीपबहादुर सिंहबाट वाक ओभर पाए । घाइते भएकाले सुदीपले खेल त्यागे ।