अन्तर्राष्ट्रिय

भारतद्वारा पराध्वनिक प्रतिरक्षात्मक क्षेप्यास्त्रको परीक्षण

नयाँ दिल्ली, भारत । भारतले मङ्गलबार पराध्वनिक अवरोधक क्षेप्यास्त्रको सफल परीक्षण गरेको भारतीय सरकारी स्रोतले जनाएको छ ।

स्वदेशी प्रविधिमा निर्माण गरिएको अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली अन्तर्गत निर्माण भएको उक्त क्षेप्यास्त्रले जमिनबाट ३५ किलोमिटरको उचाइमा आक्रमण गर्न सकिने भारतीय रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

“परीक्षण उडानको अवस्थामा प्रतिरोध गर्न चाहिने विविध मापदण्डको परीक्षणका लागि रहेको थियो र परीक्षण विल्कुलै सफल भएको छ,” स्रोतले परीक्षण पछि जनायो ।

भारतले सन् २०१७ मा गरेको यो तेस्रो पराध्वनिक प्रतिरोधक क्षेप्यास्त्र परीक्षण हो । यस पहिले भारतले जनवरी र मार्चमा यस किसिमको क्षेप्यास्त्रको परीक्षण गरेको थियो ।