पर्यटन/संस्कृति

गुरुङ समुदायमा ल्होसारको रौनक

बेसीशहर, लमजुङ । गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका विभिन्न गाउँमा विशेष रौनक देखिएको हो ।

गुरुङ समुदायले मान्दै आएको पात्रोअनुसार च्यल्हो (चरा वर्ग) लाई बिदाइ गरी खिल्हो (कुकुर वर्ग) स्वागत गर्दै शनिवार यस वर्षको तमु ल्होसार मनाइँदैछ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।

ल्होसारको अवसरमा गुरुङ समुदायमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका विभिन्न गाउँमा विविध साँस्कृतिक कार्यक्रम र प्रतियोगिता, शुभकामना तथा भोज खाने कार्यक्रम आयोजना गरिएका छन् ।

ल्होसारको अवसरमा सदरमुकाम बेसीशहरसहित जिल्लाका भुजुङ, घनपोखरा, ताघ्रिङ, घेर्मु, पसगाउँ, खुदीको सिउरुङ, ढंगै, राइनास, पाचोक, इलमपोखरी लगायतका गाउँमा धुमधामका साथ ल्होसार मनाउने गरिन्छ ।

ल्होसारको अवसरमा रोधी बस्ने, परम्परागत संस्कृति प्रदर्शन गर्ने तथा एकसाथ भोज खाने (सेउ क्यै) गर्ने गर्दछन् । ल्होसार मनाउन घर बाहिर रहेका पनि आफ्नो गाउँघर फर्किएका छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङमा सामाजिक सद्भावका लागि अन्य समुदाय पनि ल्होसारमा रमाउने गर्दछन् ।

प्रत्येक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलका प्रतीकका रूपमा लिइन्छ ।

नयाँ वर्षका रूपमा ल्होसार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतका जातिले मनाउने गर्छन् । गुरुङले तमु ल्होसारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा शेर्पा र भोटे लगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।