पु.समाचार

यसरी लुटिए वनवासामा दुई नेपाली

कञ्चनपुर । भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन् ।

लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का उनकै छिमेकी रहेका छन् । दुवै जना भारतको नयाँ दिल्लीमा तीन महिना मजदुरी गरी घर फर्कदै गर्दा भारतीय सिमावर्ती बजार वनवासास्थित आम बगैँचा नजिक लुटिएका हुन् ।

“अपरिचित मोटरसाइकलमा आएका चार जनाले चक्कु देखाए,” पीडित ऐरले भने, “दुवै जनासँग रहेको मोबाइल, ज्याकेट, झोला र मजदुरी गरेर कमाएको नगद रु २० हजार भारतीय रुपैयाँ लुटेर लगेका छन् ।

बालबालिका र घर परिवारका लागि ल्याएको कपडासमेत लुटेराले लुटेर लगेको उनले बताए । लुटपाटपछि बेखर्ची भएका दुवै जना ३५ किलोमिटरको यात्रा पैदल नै तय गर्दै घर पुगेका छन् ।