साहित्य

वरिष्ठ चित्रकार सुवालको चित्र प्रदर्शनी शुरु

काठमाडौँ । वरिष्ठ चित्रकार शंकरराज सिंह सुवालको करिब एक सय चित्र प्रदर्शनीमा राखिएको छ । सुवालले कला क्षेत्रमा लगानी गर्नुभएको ६० वर्ष पुगेका अवसरमा सो प्रदर्शनी राखिएको हो । प्रदर्शनी नेपाल कला परिषद्मा आजदेखि शुरु भएको हो ।

सो अवसरमा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले अहिलेसम्म कुनै पनि सरकारले कला संरक्षणका लागि काम नगरेको भन्दै कलाका माध्यमबाट पुर्खाले कमाएको कलाको संरक्षण गर्नु अब बन्ने सरकारको मुख्य कार्य हुनुपर्नेमा जोड दिए।

कला संरक्षण नगर्ने हो भने नपालीको पहिचान नरहने हुंदा संरक्षण गर्नु अत्यन्तै आवश्यक रहेको छ, उनेले भने ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कला राष्ट्रको प्रतिबिम्व गर्ने भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व हो भन्दै कामपाले संस्कृति सम्पदा मास्न खोजेको भन्ने कुरामा कुनै सत्यता नभएको प्रष्ट पारे ।

वरिष्ठ चित्रकार सुवालले सरकारले चित्रको संरक्षण र जगेर्ना गर्न नसकेकोमा गुनासो व्यक्त गरे। बाह्र वर्षदेखि कला निर्माणमा लाग्नुभएका ७२ वर्षीय सुवालले अब बाँकी जीवन पनि यस क्षेत्रमा नै लगाउने धारणा व्यक्त गरे ।

प्रदर्शनी सोमबारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा राखिएको सबै चित्र न्यूनतम रु १५ हजारदेखि अधिकतम रु १५ लाखसम्मको रहेको सुवालका बुहारी रसिला शाक्य सुवालले जानकारी दिए ।