पु.समाचार

नक्कली कागजात बनाएको अभियोगमा पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका अनुसार नक्कली कागजात तयार पारी साउदी अरबी सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा उपसचिव सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई आज कार्यालयबाटै पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ । यही पुस ९ गते सोही कार्यालयका नासु यादव पौडेल र खरिदार सुमन पाखरेललाई लेखापढी व्यवसायी अशोक कार्कीमार्फत रु ३२ हजार घुस मागेको अभियोगमा पक्राउ गरिएको थियो ।

यस्तै आजै भूमिसुधार कार्यालय भक्तपुरक नासु राजु गौतमलाई घुस लिएको अभियोगमा आयोगको टोलीले आज पक्राउ गरेको छ । आयोगले मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु छ हजार घुस लिएको अभियोगमा कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो ।