राजनीति

२७ वर्षीय युवती बनिन् नेमकिपाकी एक्ली समानुपातिक सांसद्

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ पाएको एक मात्र सिटमा विद्यार्थी नेतृ सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ ।

पार्टीको भातृ संगठन क्रान्तिकारी विदार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् । नेमकिपाले समानुपातिकबाट यसअघि पनि युवा महिलालाई सभासद् बनाएको थियो ।

पहिलो संविधानसभामा २३ वर्षीया लिला न्याइच्याईलाई सभासद् बनाएको नेमकिपाले २०७० को दोस्रो संविधानसभामा ३२ वर्षीया अनुराधा थापालाई सभासद् बनाएको थियो । यसपटक नेमकिपाले प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन सकेन ।

सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो । सो सिटमा सभासद् बनेकी सैंजु २७ वर्षीय युवती हुन् । नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर १ मा एक सिट जितेको छ ।