राजनीति

राजेन्द्र लिङ्देलले भनेः राप्रपाको एक भोट केपी ओलीलाई

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफ्नो पूर्ण समर्थन रहने बताएका छन् । ओली नेतृत्वको सरकारलाई राप्रपासँग भएको एक मत अन्त नजाने उनले स्पष्ट पारे ।

बिहीबार झापामा पत्रकारहरुसँग कुरा गर्दै उनले ओली सरकारमा जाने नजाने भन्ने अल्यिै टुंगो नलागेको बताएका छन् । ‘ओलीजीको नेतृत्वमा सरकार बनोस्, मेरो त्यही चाहना हो’, लिङ्देनले भने, ‘राप्रपा सरकारमा जाने, नजाने विषय चाहिँ अहिले टुंगो लागिसकेको छैन ।’
‘हामी सरकारमा जाने गरी जनताले मत दिएका होइनन्,’ उनले भने, ‘सरकारमा जानु हाम्रो प्राथमिकता पनि होइन ।’

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले लामो अलमल गर्न जरुरी नरहेको लिङ्देनको भनाइ छ । चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्नु देउवाको कर्तव्य भएको उनले बताए ।
यसपटकको चुनावमा राप्रपाले नमिठो पराजय बेहोर्नुका कारणबारे समिक्षा गरिने लिङ्देनले जानकारी दिए ।

सरकार निर्माणमा राप्रपाको भूमिका आवश्यक पर्ने वा नपर्ने भन्ने विषय पनि सोही बैठकले टुंगो लगाउने लिङ्देनले बताए । महामन्त्री लिङ्देनले राप्रपाले एक–दुईवटा चुनाव हार्दैमा कार्यकर्ता अतालिनु नपर्ने धारणा राखे । ‘चुनाव हार्दैमा हाम्रो एजेण्डा विफल भएको भन्न मिल्दैन’, उनले भने, ‘एजेण्डा, संगठन संरचना वा कार्यशैली के कारणले पार्टीले हार बेहो¥यो, त्यसको हामी समीक्षा गर्दैछौँ ।’

आफू भ्रष्टाचारविरोधी र विकासप्रेमी भएकै कारण जनताले भोट दिएको बताएका छन् । उनले आफू मन्त्री नबने पनि जनताका आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महामन्त्री लिङ्देन राप्रपाका एक मात्र सांसद् हुन् । झापामा एमाले र माओवादी केन्द्रसँग गठबन्धन गरी कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै लिङ्देन सांसद् बनेका थिए ।