राजनीति

प्रधानमन्त्री देउवा अप्ठ्यारोमा, कृष्णप्रसाद सिटौलाद्वारा राजीनामा माग !

काठमाण्डौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेतृत्वको विषयमा सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् ।

सिटौलाले देउवामा परिवर्तन नआए कांग्रेस समाजवादी पार्टी बन्न नसक्ने भन्दै राजीनामा माग गरेका हुन् । बिहीबार एक अनलाईनमा अन्र्तवार्ता दिँदै यस्तो बताएका हुन् ।

पार्टीका प्रभावशाली नेताले राजीनामा माग गरेपछि प्रधानमन्त्री देउवा संकटमा परेका छन् । पार्टी अन्य केही नेताहरुले पनि देउवाको राजीनामा माग गरिरहेका छन् ।

उनले परिवर्तित धारलाई हाँक्न नेतृत्व पनि परिवर्तन हुनपर्ने माग गरेका छन् । उनले भनेका छन्, ‘देउवाजीमा आमूल परिवर्तन हुनपर्यो कि त उहाँले सक्दिन भन्नुपर्यो ।’ पार्टीले परिवर्तन हाँक्न आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको दोहोर्याए ।

उनले भनेको छन्, ‘झगडा गर्दै नेतृत्व छनोटमा पुग्नुहुन्न । अब हामी कसैमा पनि पश्चगामी सोच नरहोस् । द्रुत गतिले यो देशलाई हाँक्नुपर्छ भन्ने मान्यताले पार्टीको नयाँ विचार निर्माण गर्न सकिन्छ । समाजवादी अवधारणाको पार्टी हामीले बनाउनुपर्छ । हाम्रो पार्टी समाजवादी हो नि । पार्टी समाजवादी हो तर हाम्रो व्यवहार अझै समाजवादी बन्न सकेको छैन ।’

उनले काँग्रेसले राज्यसञ्चालन गर्ने बेला पनि उपयुक्त नीति, रणनीति प्रतिपादन गर्न नसकेको र जनताको विश्वास जित्न नसकेको स्वीकार गरे । साथै उनले संगठन र परिचालन पनि उपयुक्त ढंगले गर्न नसकेको आक्रोश पोखेका छन् । पदाधिकारीका कारण काँग्रेस पराजित भएको भन्दै यसको जिम्मेवारी पदाधिकारीले लिनुपर्ने र त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने र त्यसमा एजेन्डा राखेर निर्णयमा पुग्ने बताए ।

पार्टीको महाधिवेशन चाँडोभन्दा चाँडो बोलाउनु पर्ने माग गर्दै भनेका छन्, ‘ यसपालि महासमिति किन पनि बोलाउनु पर्ने भो भने हाम्रो आफ्नै पार्टीको विधान परिवर्तन गर्न आवश्यक छ । पहिलेकै गाउँसमिति र नगरसमिति नै राखेर संगठन संरचना पुग्दैन । पहिले जिल्ला समिति थियो अहिले जिल्ला समन्वय समिति छ । प्रदेश सभा बन्छ अहिलेसम्म हाम्रो प्रदेश कमिटी छैन । अब त्यसैअनुसार पार्टीले आफ्नो संरचना पनि निर्माण गर्नुपर्छ । त्यसका लागि कांग्रेसले विधान संशोधन गर्नुपर्छ । विधान संशोधन गर्न महासमिति वा विशेष महाधिवेशन आवश्यक छ । हाम्रो पार्टी जीवन पद्दतीमै परिवर्तन आवश्यक छ । त्यसैले पहिले केन्द्रीय समिति बोलाएर त्यसको निर्णयले महासमिति बोलाउनु पर्छ । विशेष महाधिवेशन वा महासमिति जे बोलाए पनि हुन्छ ।’

फरक प्रशंगमा उनले भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बढी मत ल्याउनुमा माओवादीसँगको तालमेल भएको दाबी गरेका छन् । एमाले एक्लैले त्यत्रो मत ल्याउन नसक्ने भन्दै उनले भनेका छन्, ‘ मैलेचाहिँ एमालेको मत बढ्नुको अर्कै कारण देखेको छु । त्यो माओवादीसँग मिल्नुको परिणाम हो । स्थानीय तहभन्दा माओवादीको मत अहिले घट्यो । त्यो सबै मत समानुपातिकमा एमालेलाई गएको देखिन्छ । आखिर पार्टी एकता हुँदै छ, एमालेकै नेतृत्वमा हुँदैछ भनेपछि मतदाताले त्यही पार्टीलाई मत दिए । मेरो विश्लेषणमा माओवादीको मत स्थानीय तहभन्दा घट्नुको अरू केही कारण छैन । एमालेको मत बढ्नुको कारण पनि त्यही हो ।’