सूचना प्रविधि

सञ्चार मन्त्रालयको प्रगति सन्तोषजनक

काठमाण्डौ । सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध निकायले चालू आवको पहिलो चौमासिक समीक्षा अवधिमा सन्तोषजनक प्रगति हासिल गरेका छन् ।

सञ्चार मन्त्रालयमा आज आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत गरिएको प्रगति विवरणअनुसार चालू, पूँजीगत खर्च र भौतिक प्रगतिमा सन्तोषजनक नतिजा देखिएको हो ।

सञ्चार मन्त्रालयको समग्र प्रगति प्रथम चौमासिक विनियोजनमा खर्च चालू ८४.२९ र पूँजीगततर्फ २९.३५ प्रतिशत प्रगति भएको छ ।

प्रथम चौमासिकको कूल वित्तीय प्रगति ८०.९३ र वार्षिक बजेट विनियोजनमा कूल वित्तीय प्रगति २७.११ प्रतिशत रहेको छ ।

अधिकांश निकायले ठूला परियोजना सञ्चालनका लागि विभिन्न प्रक्रिया अपनाउनुपर्ने भएकाले पूँजीगततर्फ केही कम खर्च भएको मन्त्रालयले जनाएको छ ।

प्रथम चौमासिकको अवधिमा विनियोजित बजेटको प्रगति हेर्दा राष्ट्रिय समाचार समिति, प्रेस काउन्सिल नेपाल र रेडियो प्रचार सेवा विकास समितिले शतप्रतिशत प्रगति गरेका छन् ।

राष्ट्रिय सूचना आयोग, क्षेत्रीय हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयले ८२ देखि ९७ प्रतिशत प्रगति गरेका छन् । त्यस्तै सूचना विभाग, मुद्रण विभाग, हुलाक सेवा विभाग र गोश्वारा हुलाक कार्यालयले समग्रमा ६० प्रतिशत प्रगति गरेको पाइएको छ । नेपाल टेलिभिजन, नेपाल दूरसञ्चार प्राधिकरणले ठूला आयोजना सञ्चालनको प्रक्रियामा रहेकाले खर्च प्रगति देखिएको छैन ।

बैठकलाई सम्बोधन गर्दै सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सूचना र सञ्चारको विकास कसरी गर्ने भन्ने मन्त्रालय र सम्बद्ध निकायको मूल उद्देश्य रहेकाले चालू आवका योजना कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिए ।

उद्देश्य र लक्ष्यअनुरुप तय गरिएको बजेट कार्यक्रमलाई परिणाममुखी बनाई जनताको सेवामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्न आग्रह गरे ।

सञ्चार मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी कसरी बढीभन्दा बढी उपलब्धि हासिल गर्ने भन्नेतर्फ सबै निकायको ध्यान जानुपर्ने खाँचो औँल्याए ।

उनले नयाँ आयोजना तथा कार्यक्रम सञ्चालनको प्रक्रियामा भएकाले हरेक वर्ष पहिलो समीक्षा अवधिमा पूँजीगत खर्च कम देखिने गरेको भन्दै तेस्रो चौमासिकमा मात्र वित्तीय प्रगति देखिने बताए ।

सञ्चार मन्त्रालय, नीति, योजना, अनुगमन तथा मूल्यांकन शाखाकी प्रमुख रुद्रादेवी शर्माले मन्त्रालयअन्तर्गत निकायको समग्र प्रगति विवरण प्रस्तुतिकरण गरेकी थिइन् ।

कार्यक्रममा राससका महाप्रबन्धक ओपेन्द्र शर्माले दक्ष जनशक्तिको अभाव र सीमित स्रोत साधनका बाबजुद पनि राससले आफ्नो सेवालाई समयसापेक्ष, गुणस्तरीय बनाउन लागिपरेको बताए ।

नेपाल टेलिकमका मुख्य प्राविधिक अधिकृत अशोक थापाले टेलिकमलाई समयसापेक्ष सेवाग्राहीमैत्री बनाउन लागिपरेको उल्लेख गरे ।

सञ्चार मन्त्रालयको तत्काल सुधार कार्ययोजनाको प्रगतितर्फ अनलाइन सञ्चार माध्यमलाई व्यवस्थित गर्न अनलाइन सञ्चार माध्यम सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७४ स्वीकृत भएको, संघीय व्यवस्थाअनुरुप मन्त्रालय र अन्तर्गतका निकायको पुनःसंरचनाका लागि संगठनात्मक संरचना अन्तिम चरणमा पुगेको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान र रेडियो नेपालबाट विद्युतीय अभिलेख तयार गर्ने कार्य भइरहेको, ब्रोडब्याण्ड नीति पारित भई गुरुयोजनाको मस्यौदा स्वीकृत भएको र चलचित्र नीति कार्यान्वयन कार्ययोजना मस्यौदा स्वीकृत भएको र सूचना तथा सञ्चार प्रविधि नीतिको कार्ययोजना बनाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा मन्त्रालय मातहत निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।