उर्जा

पूर्वाञ्चलमा पाँच करोड युनिट विद्युत् चुहावट

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ ।

प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३ करोड ८४ लाख पाँच हजार ५७१ युनिट विद्युत्मा २८ करोड ४५ लाख ३४ हजार ७९३ युनिट विद्युत् बिक्री गरेको छ । पाँच करोड ३८ लाख ७० हजार ७७९ युनिट विद्युत् खेर गएको पाइएको छ ।

आव २०७३/७४ मा कूल ८९ करोड ७३ लाख ७० हजार ३८३ युनिट विद्युत् प्राप्त भएकामा ७३ करोड ८९ लाख ९९ हजार ८१३ युनिट विद्युत् बिक्री गरेको थियो । सो अवधिमा पनि १५ करोड ८३ लाख ७० हजार ५७० युनिट विद्युत् खेर गएको पाइएको छ । चुहावटमा मात्रै करोडौँ मूल्य बराबरको विद्युत् खेर गइरहेको प्राधिकरणले जनाएको छ ।

इनरुवा र रंगेलीमा सबैभन्दा बढी चुहावट

प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहत रहेका इनरुवा र रंगेली वितरण केन्द्रमा सबैभन्दा बढी विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले गरेको आन्तरिक अध्ययनका क्रममा ती दुवै वितरण केन्द्रमा ३६ प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको हो । पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा १७ वटा वितरण केन्द्र रहेका छन् । समग्रमा सो क्षेत्रको विद्युत् चुहावट १७।६५ प्रतिशत रहेको भए पनि केही वितरण केन्द्रमा भने अत्यधिक मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ ।

प्राधिकरणले चालू आवको अन्त्यसम्म उक्त क्षेत्रीय कार्यालय मातहतका निकायको विद्युत् चुहावटलाई तीन प्रतिशतले घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत कात्तिक मसान्तसम्म कूल चुहावट घटाएर १५.९२ बिन्दुमा झारेको छ । विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रमा १७.६५ प्रतिशत चुहावट हुने गरेको छ ।

प्राधिकरणका अनुसार दुहवी वितरण केन्द्रमा ८.९ प्रतिशत, खाँदबारी र भोजपुर वितरण केन्द्रमा नौ प्रतिशत चुहावट हुने गरेको छ । विराटनगर वितरण केन्द्रमा १४, भद्रपुरमा १६, अनारमणिमा २२, इलाममा २४, बेलबारीमा २६, तेह्रथुममा १७, धरानमा ११ र धनकुटामा २० प्रतिशत चुहावट हुने गरेको छ ।

चुहावट नियन्त्रणका लागि शहरी क्षेत्रमा नेपाल प्रहरीको सहयोगमा द्रुत टोली परिचालन गरिएको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख ब्रजभूषण चौधरीले जानकारी दिए । उनका अनुसार विद्युत् महसुल नबुझाएका ग्राहकको गत कात्तिक मसान्तसम्म लाइन काटेर कारबाही गर्दा रु ३९ करोड रकम उठेको छ ।

यस्तै विद्युत् चोरीमा संलग्न ५७ जनालाई कारबाही गरिएको छ । चुहावट नियन्त्रण अभियान चलाएपछि मात्रै रु २३ लाख तीन हजार २२७ रकम उठेको छ । यस्तै प्राधिकरणले ४८३ वटा हुुकिङ सामग्री र १०९ वटा अन्य उपकरणसमेत जफत गरेको छ ।

बढी ओभरलोड

प्राधिकरणको पूर्वाञ्चल क्षेत्रीय कार्यालय मातहतका विभिन्न कार्यालय, वितरण केन्द्र, सवस्टेशनमा बढी ओभरलोड हुने गरेको पाइएको छ । प्रमुख चौधरीका अनुसार धनकुटाको तिरतिरे सवस्टेशनमा बढी ओभरलोड हुने गरेको छ भने अन्य स्थानमा भोल्टेजमा समस्या आउने गरेको छ ।

धरान–धनकुटा– तिरतिरे ३३ केभी प्रसारण लाइनमा फिडरका जम्पर टुट्ने तथा कन्डक्टर पग्लने गरेको छ । ओभरलोडका कारण उक्त प्रसारण लाइनमा बढी प्राविधिक चुहावट हुने गरेको छ ।

तिल्केनी र ताप्लेजुङ ३३ केभी प्रसारण लाइनमा १९ मेगावाट क्षमताको विद्युत् प्रवाह गराउँदासमेत समस्या आएको छ भने झापाको १३२ केभी पाडाजुङ्गी सवस्टेशनमा पनि ओभरलोड हुने गरेको छ । दुहवी ग्रिडमा ओभरलोडका कारण ट्रान्सफर्मरको समस्या आउने गरेको छ ।

विराटनगर क्षेत्रीय कार्यालय मातहत हाल पाँच लाख ३२ हजार ३६१ ग्राहक रहेका छन् भने औद्योगिक ग्राहकको संख्या छ हजार ८९२ रहेको छ । व्यापारिक ग्राहक दुई हजार ९४९ रहेका छन् । उक्त क्षेत्रीय कार्यालय मातहत भारतबाट १३५ मेगावाट विद्युत् आयात भइरहेको छ भने पूर्वा खोलाबाट तीन, काबेली करिडोर र संखुवासभा तिरतिरे सवस्टेशनबाट २७ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ ।

मेची र कोशी अञ्चलमा हाल १४ आयोजनाबाट १०२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । सानिमा माई २२ मेगावाट, सानिमा क्यास्केड सात मेगावाट, अपर माई र अपर माई क्यास्केड गरी १६ मेगावाट, हेवाखोला १५ मेगावाट क्षमताका आयोजना ठूला आयोजना हुन् ।

चतराको सुनसरी जलविद्युत् आयोजना भने हाल बन्द छ । सो आयोजनाबाट ३।२ मेगावाट विद्युत् उत्पादन हुने गरेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता असुल गर्न र विद्युत् चोरीमा संलग्नलाई कडा कारबाही गर्न क्षेत्रीय प्रमुख तथा वितरण केन्द्रका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।