अन्तर्राष्ट्रिय

पाकिस्तानले विवाहित महिलालाई विधवा जस्तो देखिन बाध्य पार्योः सुष्मा स्वराज

एजेन्सी । पाकिस्तानको जेलमा बन्दी जीवन बिताइरहेका कुलभूषण जाधवलाई आफन्तसँग पाकिस्तानले गराएको भेटका बारेमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा बोलेकी छन् ।

बीबीसीका अनुसार बिहीबार संसदमा उनले इन्टरनेशनल कोर्ट अफ जस्टिस(आईसीजे) को फैसलाको सहायतामा कुलभूषण जाधवको जीवनमा आइपरेकोे खतरा टरेको बताइन् । अब आईसीजेमा अझै बढी मजबुत तर्कका आधारमा जाधवलाई स्थायी राहत दिन सरकारले पहल गर्ने विदेशमन्त्री स्वराजको भनाइ छ ।

पाकिस्तानी जेलमा कैद गरिएका जाधवको परिवारसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै उनले यसै कारण जाधवसँग भेट्ने परिवारको चाहना पूरा गरिएको जिकिर गरिन् । जाधव र परिवारबीच भएको भेट आगामी दिनमा अगाडि चालिने कदम हुन सक्ने स्वराजको भनाइ थियो ।

पाकिस्तान पुगेको जाधव परिवार र जाधवबीचको भेट दुई देशबीचको सहमति विपरित भएकोप्रति उनले आपत्ति जनाइन् । २२ महिनापछि एक आमा आफ्नो छोरासँग र एक पत्नी आफ्नो पतिसँग हुने भावपूर्ण भेटलाई पाकिस्तानले प्रोपोगण्डा र हतियारको रुपमा प्रयोग गरेको भारतीय विदेशमन्त्री स्वराजको भनाइ थियो ।

पाकिस्तानले जाधवकी पत्नीको मात्रै नभएर उनकी आमाको पनि टीका र मंगलसूत्र उतार्न लगाएको प्रति स्वराजको आपत्ति थियो । उनले भनिन्, ‘‘मैले यस बारेमा कुलभूषण जाधवकी आमासँग कुरा गरेकी थिएँ । कुलभूषणले आमालाई टीका र मंगलसूत्रविहिन अवस्थामा देखेपछि आफ्नो बुवाको बारेमा जिज्ञासा राखेका रहेछन् । सायद उनलाई आमाको त्यस्तो अवस्था देख्दा आफ्नो अनुपस्थितिमा केही दुर्घटना भयो कि भन्ने लागेको रहेछ ।’

कुलभूषण जाधवकी पत्नीको बारम्बारको आग्रहलाई बेवास्ता गर्दै पाकिस्तानी अधिकारीले उनको जुत्ता फिर्ता नगरेको विदेशमन्त्री स्वराजले बताइन् । कुलभूषण जाधवकी आमाले साडीमात्रै लगाउने गरेपनि उनलाई सलवार–सूट लगाउन दिएको प्रति असन्तुष्टि जनाउँदै स्वराजले आमा र पत्नी दुवैको टीका, चुरा, र मंगलसूत्र निकाल्न लगाएर पाकिस्तानले विवाहित महिलालाई विधवा जस्तो देखिन बाध्य पारेको पनि बताइन् ।